जेठ २५, काठमाडौं । आज कोशी प्रदेशसहित देशका केही स्थानहरूमा छिटपुट वर्षा भए पनि हालको लागि ठूलो पानी पर्ने सम्भावना नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका मौसमविद् गोविन्द झाका अनुसार, पर्सिदेखि देशको पश्चिमी भू–भागमा वर्षा गराउने प्रणाली सक्रिय हुने सम्भावना रहेको छ।
यस वर्ष मनसुन औसत समयभन्दा १५ दिन छिटो नेपाल प्रवेश गरे पनि हालसम्म पनि कोशी प्रदेशमै रोकिएको छ, जसका कारण देशभर बादल र वर्षाको गतिविधि सामान्यभन्दा कम देखिएको छ। कोशी प्रदेशमा पनि मनसुन शिथिल रहेको छ।
सामान्यतः कोशी प्रदेशमा मनसुन प्रवेश गरेपछि १२–१५ दिनभित्र देशभर फैलिने गर्दछ। उदाहरणका लागि, गएको वर्ष जेठ २८ गते प्रवेश गरेको मनसुन असार १० गतेभित्र देशभर फैलिएको थियो। तर अहिले पश्चिमी वायुले बलियो प्रभाव पारिरहेकाले मनसुनी वायुलाई पश्चिमतर्फ बढ्न नदिएको महाशाखाले जनाएको छ।












