रोल्पा, जेठ२५ । सुरक्षित आप्रवासन (सामी) कार्यक्रम अन्तर्गत वैदेशिक रोजगारी तथा कानुनी सेवासम्बन्धी अन्तरक्रिया कार्यक्रम आज (आइतबार) रोल्पा नगरपालिका–०२, लिबाङमा सम्पन्न भएको छ। स्थानीय तहको न्यायिक समिति तथा मेलमिलापकर्ताहरूको समन्वयमा आयोजित उक्त अन्तरक्रिया कार्यक्रम रोल्पा नगरपालिका न्यायिक समितिका संयोजक तथा नगर उपप्रमुख श्री गीता आचार्यको अध्यक्षता तथा नगरप्रमुख श्री सुरेन्द्र थापा (घर्ती) प्रमुख आथित्यतामा सम्पन्न भएकाे हाे ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत श्री रामप्रसाद शर्मा, न्यायिक समितिका सदस्यहरू, दर्ता अधिकारी श्री सुशील कुमार थापा, कानुनी सहायता अधिकारी अधिवक्ता श्री घनश्याम महरा, सामी कार्यक्रमका जिल्ला संयोजक श्री शरद पोख्रेल, साथै रोल्पा नगरपालिकाका १० वटै वडाबाट आएका मेलमिलापकर्ताहरूको उपस्थिति थियो। कार्यक्रमको सहजीकरण श्री शरद पोख्रेलसहित विभिन्न विषय विशेषज्ञहरूले गर्नुभएको थियो। अन्तरक्रियामा न्यायिक समितिमा आउने उजुरीहरूको प्रकृति, समाधानका अभ्यास, वैदेशिक रोजगारसँग सम्बन्धित सम्भावित समस्या, कानुनी सेवाको पहुँच र प्रभावकारिता, तथा मेलमिलाप प्रक्रियाको भूमिकाबारे गहन छलफल गरिएको थियो।

कार्यक्रमको उद्देश्य वैदेशिक रोजगारीमा जाने व्यक्तिहरूलाई सुरक्षित मार्गदर्शन प्रदान गर्नु, उनीहरूले पाउनुपर्ने कानुनी सेवा तथा परामर्शको जानकारी दिनु, र मेलमिलापकर्ताहरू तथा न्यायिक समितिबीचको सहकार्य सुदृढ गर्नु रहेको थियो। सहभागीहरूले विदेश जाने प्रक्रिया सुरु गर्नु अघि देखिने कानुनी चुनौतीहरू, दलालहरूको जालो, श्रम सम्झौता, बीमा तथा क्षतिपूर्ति प्रणाली, र वैदेशिक रोजगारमा परेका समस्यामा न्यायिक समितिले निर्वाह गर्न सक्ने भूमिकामाथि सुझाव र अनुभव आदानप्रदान गरेका थिए।

यस कार्यक्रमले न्यायिक समिति तथा मेलमिलापकर्ताहरूलाई सुरक्षित आप्रवासन सुनिश्चित गर्न आवश्यक ज्ञान, सूचना र सहकार्यको वातावरण निर्माण गर्न सघाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस