घोराही (दाङ), जेठ २५ । दाङको घोराहीस्थित कारागारमा दिसाजन्य फोहोरबाट बायोग्यास उत्पादन सुरु गरिएको छ। कारागारमा बढ्दो फोहोर व्यवस्थापन चुनौतीकाबीच रु १२ लाखको लागतमा बायोग्यास प्लान्ट निर्माण गरिएको हो। कारागार कार्यालयका प्रमुख लक्ष्मणसिंह राठौरका अनुसार, ५० घनमिटर क्षमताको बायोग्यास प्लान्टबाट हाल ८० जनाका लागि खाना पकाउन प्रयोग भइरहेको छ।
उहाँले भन्नु भयाे , “दिसाजन्य फोहोर व्यवस्थापनमा चुनौती थियो। बायोग्यास उत्पादन गर्दा प्रभावकारी हुने सुझावअनुसार काम गरेका हौँ।” बायोग्यास उत्पादनले एलपी ग्यासको खपत घटाउने र फोहोर व्यवस्थापनमा सन्देशमूलक काम भएको राठौरले बताएनु भयाे। हाल फोहोरको अभावले उत्पादन सीमित भए पनि भविष्यमा फोहोरको मात्रा बढेसँगै बायोग्यास उत्पादन क्षमता पनि बढाउने योजना रहेको उहाँकाे भनाइ छ ।
हाल घोराही कारागारमा ४२७ जना कैदीबन्दी रहेका छन्।











