जेठ २६, काठमाडौँ । अमेरिकाबाट निष्कासित (डिपोर्ट) गरिएका थप ३७ जना नेपाली गएराति काठमाडौँ आइपुगेका छन्। अमेरिकी सरकारद्वारा चार्टर्ड विमानमार्फत उनीहरूलाई स्वदेश फर्काइएको हो। अध्यागमन विभागका अनुसार अमेरिकी कानुन उल्लङ्घन गरेको आरोपमा डिपोर्टमा परेका ३२ जना पुरुष र ५ जना महिला काठमाडौँ अवतरण गरेका हुन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दोस्रो कार्यकाल सम्हालेयता हालसम्म १७७ जना नेपालीलाई निष्कासन गरिएको विभागले जनाएको छ।
डिपोर्टमा परेकाहरूलाई प्रहरीले मानव बेचबिखन अनुसन्धान ब्युरोमार्फत प्रारम्भिक सोधपुछ गरेर घर जान दिने गरेको छ। निष्कासितमध्ये अधिकांशले मानव तस्करीमा संलग्न संगठित गिरोहलाई ठूलो रकम बुझाएर एशिया, युरोप र अफ्रिकाका विभिन्न मुलुक हुँदै अमेरिका प्रवेश गरेको पाइएको छ।












