काठमाडौँ , जेठ २६ ।  प्रतिनिधिसभाको बैठक आज (जेठ २६ गते) दिउँसो २ बजेका लागि बोलाइएको छ। पटक–पटक स्थगित हुँदै आएको बैठक आज सञ्चालन हुने वा नहुने भने अझै निश्चित छैन। गृहमन्त्री रमेश लेखकको राजीनामाको माग गर्दै विपक्षी दलहरूले संसद् अवरुद्ध गर्दै आएका छन्।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकको संलग्नता हुन सक्ने भन्दै छानबिनमा सहयोग गर्न उनी राजीनामा दिनुपर्ने विपक्षीको माग छ। संसद् अवरोध हटाउन सत्तारूढ गठबन्धनको आग्रहमा माओवादी केन्द्र केही लचिलो देखिए पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भने अडानमै उभिएको छ।

सत्तापक्षले भिजिट भिसा प्रकरणको छानबिनमा अख्तियारलाई सहयोग गर्ने आशयसहितको प्रस्ताव तयार पारेको छ। तर रास्वपाले भने अख्तियारले अनुसन्धान टुंग्याएपछि कस्तो कदम चाल्ने भन्ने विषयमा अहिले नै स्पष्ट सहमति हुनुपर्ने अडान राखेको छ।

संसद् अवरुद्ध भइरहेकाले जेठ १५ गते प्रस्तुत भएको आगामी आर्थिक वर्षको बजेटमाथि छलफल सुरु हुन सकेको छैन। जेठ २० गतेयता लगातार बैठक अवरुद्ध हुँदा संसद् सञ्चालन हुन सकेको छैन।

यदि आजको बैठकमा अवरोध नभए, उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले “आगामी आर्थिक वर्ष २०८२/८३ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट)माथि सामान्य छलफल गरियोस्” भन्ने प्रस्ताव पेस गर्ने र त्यसबारे छलफल हुने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

त्यसैगरी, राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले “संघीय निजामती सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२” पेस गर्ने कार्यक्रम पनि सम्भावित कार्यसूचीमा रहेको छ।

बैठकमा विषयगत समितिमा सदस्य हेरफेरसम्बन्धी जानकारी र प्रधानमन्त्रीको कार्यालयबाट प्राप्त कार्यभारसम्बन्धी पत्रका व्यहोरा सभामुख देवराज घिमिरेले जानकारी गराउने कार्यसूची पनि संसद् सचिवालयले तय गरेको छ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस