दाङ, जेठ २६ — लुम्बिनी प्रदेश सरकार तथा विभिन्न संघ–संस्थाको साझेदारीमा स्थानीय तहका पदाधिकारीहरूका लागि दाङमा “लागू औषध तथा मदिरा नियन्त्रणसम्बन्धी प्रदेशस्तरीय कार्यशाला गोष्ठी” आज (सोमबार) सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश सरकारका सचिव श्री बाबुराम अधिकारी रहनुभएको थियो भने कार्यक्रमको अध्यक्षता प्रमुख जिल्ला अधिकारी श्री कृष्णप्रसाद लम्सालले गर्नुभएको थियो।

गोष्ठीमा जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख, प्रहरी उपरीक्षक अर्जुन तिमल्सिनाले दाङ जिल्लामा लागू औषध दुरुपयोगको वर्तमान अवस्था, नियन्त्रणका प्रयास, देखा परेका चुनौतीहरू तथा भविष्यमा अपनाउनुपर्ने रणनीतिबारे तथ्यांकसहित प्रस्तुति दिनुभयो। त्यसैगरी अनुसन्धान अधिकृत तथा प्रहरी निरीक्षक कबिराज रोकायले लागू औषध दुरुपयोग र नियन्त्रणसम्बन्धी जिल्ला प्रहरी कार्यालय दाङको भूमिकाबारे विस्तृत जानकारी प्रस्तुत गर्नुभयो। नार्कोनन नेपालका महासचिव बसन्त पुनले सुधार, शिक्षा, जनचेतना तथा रोकथाम सेवाहरूको महत्त्वबारे धारणा राख्नुभयो।

कार्यक्रममा घोराही उपमहानगरपालिकाका प्रमुख तथा कार्यक्रका विशेष अतिथि नरुलाल चौधरीले युवाहरू विशेषगरी फुर्सदको समयमा लागू औषध दुर्व्यसनमा फस्ने सम्भावना बढी हुने उल्लेख गर्दै, यस्ता घटनाहरूको सञ्चारमाध्यममा आउनु सकारात्मक भए तापनि दुर्व्यसन बढ्दै जानु चिन्ताजनक रहेको बताउनुभयो।

उहाँले विद्यालयस्तरबाटै जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नु आवश्यक रहेको र त्यसका लागि स्थानीय सरकारले आर्थिक सहयोग गर्न सक्ने योजना बनाएको जानकारी पनि दिनुभयो।

कार्यक्रममा सहभागीहरूले लागू औषधको दुरुपयोग विशेषगरी उत्पादन नहुने स्थानहरूमा समेत बढ्दो दरले फैलिँदै गएकोप्रति चिन्ता व्यक्त गरेका थिए । बिषेश गरी विद्यालय स्तरका बालबालिकाको वरिपरि समेत दुर्व्यसनकर्ता देखिन थालेको भन्दै रोकथामका लागि गम्भीर पहल आवश्यक रहेको सुझाब दिएका थिए। विशेषगरी १५ देखि २५ वर्ष उमेर समूहका विद्यार्थीहरू लागू औषध दुरुपयोगमा फसेको समेत पाइएकाे  छ। साथीको संगत, अनावश्यक हिँडडुल लगायतका कारणहरू दुर्व्यसनको कारकका रूपमा देखिएको  बताएका छ।

कार्यक्रममा दाङ जिल्लाका विभिन्न पालिका प्रमुख तथा प्रतिनिधिहरू, सुरक्षा निकाय, जिल्ला प्रशासन कार्यालयका कर्मचारी, पत्रकार तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। सहभागीहरूले उठाएका विभिन्न प्रश्नहरूको सम्बन्धित निकायका प्रतिनिधिहरूद्वारा जवाफ प्रदान गरिएको थियो।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस