काठमाडौँ, जेठ २७ । नेपाल बैंक लिमिटेड सञ्चालक समितिका तत्कालीन अध्यक्ष डा. चन्द्रबहादुर अधिकारीसहित पाँच जनाविरुद्ध घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ। आयोगका अनुसार डा. अधिकारीले बैंकमार्फत ऋण प्रक्रियामा सहजीकरण गरिदिने भन्दै घुस रकम लिएका थिए। रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१, बेलहियामा रहेको भुसाल हस्पिटालिटी अन्तर्गतको परियोजनाले १ अर्ब ७७ करोड २९ लाख ८६ हजार ७६५ रुपैयाँ ऋण लिन खोजेको थियो। उक्त प्रक्रियामा डा. अधिकारीले १९ लाख रुपैयाँ घुस लिएको प्रमाणित भएको आयोगले जनाएको छ।
यसै मुद्दामा डा. अधिकारीसँगै नसिब अन्सारी, अमृत भुसाल, अङ्कित भुसाल र बालकृष्ण भुसालविरुद्ध पनि समान बिगो मागदाबी गर्दै मुद्दा दायर गरिएको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिनुभयो।
यस्तै, डा. अधिकारीले तनहुँको आँबुखैरहनीस्थित अकला देवी ट्रेडर्सका सञ्चालकसँग ऋण सहजीकरण गरिदिने भन्दै ५० लाख रुपैयाँ घुस माग गरेको पाइएको छ। सो प्रकरणमा आयोगले नारायणप्रसाद बराल, दानबहादुर कार्की, सुन्दरबहादुर बानियाँ, सन्तोष सुवेदी र लक्की खान (खुस नसिब अन्सारी) विरुद्ध पनि ५० लाख रुपैयाँ बराबरको बिगो माग गर्दै दोस्रो मुद्दा दायर गरेको छ।
त्यस्तै, काठमाडौं महानगरपालिका–३२ मा रहेको हिमाल तराई कन्स्ट्रक्सन प्रालिले ऋण प्रक्रिया सहज बनाइदिने बहानामा डा. अधिकारीले पाँच लाख रुपैयाँ घुस लिएको आरोप छ। सो सम्बन्धमा डा. अधिकारी र रमेश आचार्यविरुद्ध पनि पाँच लाख रुपैयाँ बराबरको बिगो माग गर्दै तेस्रो मुद्दा दायर गरिएको आयोगले जनाएको छ।












