झापा, जेठ २७ । झापाको विभिन्न तीन स्थानमा आज बिहान तीन जना व्यक्ति मृत अवस्थामा फेला परेका छन्। जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी खगेन्द्रबहादुर खड्काका अनुसार शवहरू अर्जुनधारा नगरपालिका–४ मदनपुर जलाधर सडक, बिर्तामोड नगरपालिका–२ फूलबारी टोल, र अर्जुनधारा–११ नयाँबस्तीमा फेला परेका हुन्।
प्रहरीका अनुसार, अर्जुनधारा–४ मा फेला परेको शवको पहिचान खुल्न सकेको छैन। बिर्तामोड–२ फूलबारी टोलका ३६ वर्षीय राम टुडू र अर्जुनधारा–११ नयाँबस्तीका ६० वर्षीय मित्रलाल कामी मृत अवस्थामा फेला परेका हुन्।
तीनै शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको प्रहरीले जनाएको छ। घटनाको कारणबारे अनुसन्धान भइरहेको जनाइएको छ।












