दाङ, जेठ २८ । घोराही उपमहानगरपालिकाले नगरका २० जना युवालाई लक्षित गर्दै निःशुल्क कुक तालिम सञ्चालन गरेको छ। दिगो तथा सम्मानजनक रोजगारी सुनिश्चित गर्ने उद्देश्यले सञ्चालित “सिप परियोजना–इन्स्योर” को दोस्रो चरणको आर्थिक तथा प्राविधिक सहयोगमा यो तालिम सुरु गरिएको हो।

यसअघि पनि उपमहानगरपालिकाले इन्स्योर परियोजनामार्फत २० जना युवालाई कुक तालिम दिएको थियो, जसका धेरैजसो प्रशिक्षार्थी अहिले विभिन्न होटल तथा रेस्टुरेन्टहरूमा रोजगारीमा आबद्ध छन्।

तालिमको उद्घाटन कार्यक्रम तालिम संयोजक प्रशान्त कुमार अर्यालको अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रमका प्रमुख अतिथि नगरप्रमुख नरुलाल चौधरी र विशेष अतिथि उपप्रमुख हुमाकुमारी डिसी हुनुहुन्थ्यो।

नगरप्रमुख चौधरीले होटल व्यवसाय आर्थिक विकासको महत्वपूर्ण आधार भएको उल्लेख गर्दै बेरोजगार युवालाई सीप दिएर रोजगारमा जोड्ने उद्देश्यले यस्ता तालिमहरू सञ्चालन गरिएको जानकारी दिनुभयो। उहाँले सरकारले प्रदान गर्ने यस्ता व्यावसायिक तालिमहरू व्यक्तिको आर्थिक तथा सामाजिक अवस्थालाई मजबुत बनाउने आधारसमेत हुने बताउनुभयो।

उहाँले इमान्दार र नियमित भएर तालिममा सहभागी हुन आग्रह गर्दै मात्रै राज्यको लगानीको पूर्ण सदुपयोग हुने उल्लेख गर्नुभयो। साथै, होटल क्षेत्रमा ठूलो सम्भावना रहेको भन्दै तालिम प्रदायक संस्थालाई समयानुकूल सीप प्रदान गर्नुपर्नेमा जोड दिनुभयो।

उपप्रमुख हुमाकुमारी डिसीले पनि राज्यले दिने सीपमूलक तालिमलाई जीवनपरिवर्तनसँग जोड्न आग्रह गर्नुभयो। कुकका रूपमा होटल क्षेत्रमा अपार सम्भावना रहेको भन्दै उहाँले युवाहरूलाई उत्साहित हुँदै इमान्दारिताका साथ तालिममा सहभागी हुन सुझाव दिनुभयो।

यस तालिमका लागि सार्वजनिक सूचना प्रकाशन गरी आएका निवेदनमध्येबाट २० जना युवाहरूलाई छनोट गरिएको हो।

तालिममा प्रशिक्षण दिने प्रशिक्षकहरूमा सोनम आचार्य, प्रशान्त कुमार अर्याल, पूर्ण बुढामगर र अश्विनी कुमार शर्मा रहेका छन्। तालिमको उद्घाटन सत्रको सहजीकरण मिनराज भाटले गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस