जेठ २८, काठमाडौं । बिजमाण्डू र नेपालखबर डटकममा प्रकाशित समाचारका सन्दर्भमा काठमाडौं जिल्ला अदालतले जारी गरेको अल्पकालीन अन्तरिम आदेशप्रति नेपाल पत्रकार महासङ्घसहित विभिन्न पत्रकार सङ्घ–सङ्गठनहरूले गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्।

नेपाल पत्रकार महासङ्घले अदालतको आदेश प्रेस स्वतन्त्रतासम्बन्धी अन्तर्राष्ट्रिय मूल्यमान्यता तथा नेपालको संविधान २०७२ का प्रावधान र मर्मविपरीत रहेको उल्लेख गरेको छ।

न्यायाधीश पीताम्बर शर्माको एकल इजलासले नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठद्वारा दायर गरिएको रिट निवेदनमाथि सुनुवाइ गर्दै, निवेदकलाई क्षति तथा सुविधा सन्तुलनको दृष्टिले विपक्षीलाई आफ्नो वेबसाइट, अनलाइन वा अन्य माध्यममार्फत तथ्यहीन समाचार प्रकाशित वा प्रसारण नगर्नु/नगराउनु र प्रकाशित समाचारहरू हटाउनुपर्ने उल्लेखसहित अल्पकालीन अन्तरिम आदेश जारी गरेको देखिएको महासङ्घले जनाएको छ।

प्रकाशित वा प्रसारित समाचारप्रति असहमति वा चित्त नबुझेको अवस्थामा उजुरी लिने र त्यसअनुसार कारबाही गर्ने अधिकार प्रेस काउन्सिल नेपालमा रहेको कुरा महासङ्घका महासचिव रामप्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।

यसैबीच, पत्रकार दिलभूषण पाठकविरुद्ध काठमाडौं जिल्ला अदालतबाट पक्राउ पूर्जी जारी भएको छ। साइबर ब्युरोमा उनीविरुद्ध उजुरी परेपछि अदालतले पक्राउ अनुमति दिएको हो।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस