जेठ २८, काठमाडौं । विपक्षी दलको अवरोधका कारण प्रतिनिधिसभाको आजको बैठक सञ्चालन हुन सकेन। बैठक भोलि दिउँसो ३ बजे बस्ने गरी स्थगित गरिएको छ।आजको बैठकमा विपक्षी दलका सांसदहरूले उभिएर नाराबाजी गरेका थिए। त्यसअघि सभामुख देवराज घिमिरेको पहलमा सत्तापक्ष र प्रतिपक्षी दलहरूबीच संयुक्त बैठक बसेको थियो, तर उक्त बैठकमा कुनै सहमति जुट्न सकेन।
सभामुख घिमिरे, उपसभामुख इन्दिरा रानामगर, कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजय चौरासिया, नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे, एमालेका प्रमुख सचेतक महेश बर्तौला, प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियार लगायतको उपस्थिति रहेको बैठक सहमति विना टुंगिएको हो।
विपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै संसदीय समिति वा न्यायिक आयोग गठन गर्नुपर्ने अडान राख्दै आएका छन्।
जेठ १३ गतेदेखि निरन्तर रूपमा—बजेट प्रस्तुत गरिएको जेठ १५ गते बाहेक—प्रतिनिधिसभाको बैठक नियमित कार्यसूचीमा प्रवेश नगरी स्थगित हुँदै आएको छ।












