दाङ, २८ जेठ । दाङको बंगलाचुली गाउँपालिकामा शान्ति सुरक्षा, अपराध नियन्त्रण तथा सेवा प्रवाहसम्बन्धी अन्तरक्रिया तथा सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ। जिल्ला प्रशासन कार्यालय दाङको आयोजनामा सम्पन्न कार्यक्रममा जिल्ला प्रशासन तथा जिल्ला प्रहरी कार्यालयले गरेका कार्यहरूको जानकारी गराइएको थियो।
कार्यक्रम दाङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालको अध्यक्षतामा, बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सीराम पुनमगरको प्रमुख आतिथ्यता र उपाध्यक्ष भक्तबहादुर जिसीको विशेष आतिथ्यतामा सम्पन्न भएको हो।
कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष पुनमगरले स्थानीय सरकारले जनमैत्री सेवा प्रदान गरिरहेको उल्लेख गर्दै, कानुनी अधिकारको प्रयोग गर्दै नागरिकका सेवा–सुविधा सरल र सहज बनाउन आफूहरू लागिपरेको बताउनुभयो। साथै, घोराही–मुर्कुटी–प्युठान सडक सम्बन्धी मुद्दा सडक विभागको आरबिट्रेशनबाट टुंगिएको जानकारी दिँदै, दुबै पक्ष (सडक विभाग र निर्माण व्यवसायी) फैसलासँग असन्तुष्ट रहेको कारण पुनरावेदनको तयारी भइरहेको र त्यसका कारण सो सडक तत्काल निर्माण हुन नसक्ने अवस्था आएको बताउनुभयो। उहाँले भन्नुभयो, “लडाइँ सडक विभाग र निर्माण व्यवसायीबीच छ, तर अन्याय यहाँका जनताले भोग्नु परिरहेको छ।”
साथै, अध्यक्ष पुनमगरले विभिन्न कम्पनीद्वारा बिक्री गरिने अखाद्य मदिरा बंगलाचुलीमा गम्भीर समस्या बन्न थालेको उल्लेख गर्दै तिनको नियन्त्रण आवश्यक रहेकोमा जोड दिनुभयो।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी लम्सालले बंगलाचुलीमा धेरै सम्भावना रहेको बताउँदै यहाँको विकासका लागि फरक ढंगले सोच्नुपर्ने आवश्यकता औंल्याउनुभयो। उहाँले बंगलाचुलीलाई गृष्मकालीन सहरको रूपमा विकास गर्न सकिने र जनघनत्वको आधारमा योजना निर्माण गर्नुपर्नेमा जोड दिनुभयो।
विशिष्ट अतिथि उपाध्यक्ष भक्तबहादुर जिसीले कानुन सबै नागरिकका लागि समान हुने भएकाले यसको पालना सबैले गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले कानुन नबुझी गरिने प्रशासनिक कामहरूले थप समस्या निम्त्याउने उल्लेख गर्नुभयो।
कार्यक्रममा जिल्ला प्रशासन कार्यालय दाङका प्रशासकीय अधिकृत यामबहादुर बुढामगरले २०८१ साउनदेखि २०८२ वैशाख मसान्तसम्म सेवा प्रवाह सम्बन्धी विवरण प्रस्तुत गर्नुभयो।
जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक कविराज रोकायाले शान्ति सुरक्षाको अवस्था, अपराध नियन्त्रण तथा रोकथाम, प्रहरीका कार्यसम्पादन र हाल उपलब्ध गराइँदै आएका सेवाहरूको जानकारी दिनुभयो।
कार्यक्रममा सहभागी स्थानीय नागरिकहरूले सेवा प्रवाहसँग सम्बन्धित जिज्ञासा प्रस्तुत गरेका थिए।
कार्यक्रममा राष्ट्रिय अनुसन्धान विभाग दाङका उप–अनुसन्धान निर्देशक रमेश सिंह डाँगा, सशस्त्र प्रहरी बलका नायब उपरीक्षक भेषराज सुवेदी, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त पौडेल, आर्थिक प्रशासन शाखाका वरिष्ठ लेखा अधिकृत नारायणप्रसाद आचार्य, प्रशासन शाखा प्रमुख नुमाकान्त कालाथोकी, वडा नं. १ का अध्यक्ष विष्णु कवर, वडा नं. २ का अध्यक्ष मैते पुनमगर, वडा नं. ३ का अध्यक्ष शोभाराज विश्वकर्मा, वडा नं. ५ का अध्यक्ष लीलाबहादुर घर्ती, वडा नं. ६ का अध्यक्ष डोमबहादुर केसी, सामाजिक विकास समितिका संयोजक तथा कार्यपालिका सदस्य गणेश विश्वकर्मा, कार्यपालिका सदस्य रमा पुनमगर, चित्रा दमाई, नेकपा (माओवादी केन्द्र) बंगलाचुली गाउँ कमिटी अध्यक्ष सविराम कामी, नेकपा (एमाले) बंगलाचुली गाउँपालिका इन्चार्ज भीमबहादुर राना, विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरू, टोल विकास संस्थाका प्रतिनिधि तथा गाउँपालिकाका विभिन्न शाखाका प्रमुखहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमको सहजीकरण प्रशासकीय अधिकृत यामबहादुर बुढामगरले गर्नुभएको थियो।











