काठमाडौ । इजरायलले हिजो बिहान इरानमाथि हवाई आक्रमण गरेपछि इरानले त्यसको जवाफस्वरूप इजरायलमा आक्रमण गरेको छ। पछिल्लो केही समयदेखि दुवै देशबीच एकपछि अर्को आक्रमण भइरहेका छन्।

इरानी आक्रमणपछि तेल अभिभ र जेरुसलेममा शक्तिशाली विस्फोटका आवाजहरू सुनिएको जनाइएको छ। इरानले आफ्नो आक्रमण अभियानलाई ‘ट्रू प्रमिस ३’ नाम दिएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार, इरानले ब्यालिस्टिक मिसाइल प्रयोग गरेको छ।

इरानी आक्रमणबाट इजरायलमा भौतिक क्षति पुगेको र केही मानिसहरू हताहत भएका सीएनएनले जनाएको छ। यससँगै इजरायल–इरान सम्बन्धमा चर्किएको तनाव थप उग्र बन्दै गएको छ। दुवै देशले पछिल्ला कारबाहीहरूपछि आफूहरू पछि हट्ने अवस्थामा नरहेको प्रष्ट पारेका छन्।

इजरायलले इरानको सैन्य संरचना, हतियार प्रणाली, हवाई सुरक्षा प्रणाली (एअर डिफेन्स सिस्टम), आणविक भट्टी तथा उच्चपदस्थ अधिकारीहरूलाई लक्षित गरी एकसाथ आक्रमण गरेको बताइएको छ। इरानी राजधानी तेहरान आसपास इजरायली मिसाइल आक्रमण भएको पुष्टि गरिएको छ।

संयुक्त राष्ट्रसंघमा इरानका स्थायी प्रतिनिधि अमिर सइद इराभानीले इजरायली आक्रमणले इरानमा पुर्‍याएको क्षतिबारे विस्तृत जानकारी गराउँदै इजरायलका क्रियाकलापहरूबारे कूटनीतिक पहल अघि बढाएका छन्। उहाँका अनुसार, इजरायली आक्रमणमा कम्तीमा ७८ जनाको ज्यान गएको छ, जसमा इरानी सेनाका उच्च अधिकारीहरू पनि रहेका छन्।

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले जारी गरेको भीडिओ सन्देशमा थप आक्रमण बाँकी रहेको चेतावनी दिएका छन्। त्यस्तै, इजरायली डिफेन्स फोर्स (आईडीएफ) ले नागरिकहरूलाई सुरक्षित स्थान नछाड्न र सतर्क रहन आग्रह गरेको छ।

बीबीसीका अनुसार, इरानबाट प्रक्षेपित क्षेप्यास्त्रहरू रोक्न इजरायलले विभिन्न सैन्य कारबाही गरिरहेको छ। नागरिकहरूलाई बंकर वा सुरक्षित स्थानमै बस्न निर्देशन दिइएको छ।

यसैबीच, इरानका प्रतिनिधिहरूले संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्मा इजरायलमाथि कारबाहीको माग गरेका छन्। उनीहरूले अमेरिकामाथि इजरायललाई हतियार आपूर्ति गरेको आरोपसमेत लगाएका छन्।

इरानी सर्वोच्च नेता अली खामेनीले इजरायलको आक्रमणलाई ‘युद्धको शुरुआत’ भन्दै कडा चेतावनी दिएका छन्। उनले इजरायलले ‘हिट एन्ड रन’ रणनीति अपनाएर सजिलै उम्किन नसक्ने उल्लेख गरेका छन्।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस