असार १, एजेन्सी । इजरायलले इरानमा आक्रमण गरेपछि सुरु भएको दुई देशबीचको तनाव तेस्रो दिनसम्म पनि कायमै छ। बीबीसीका अनुसार दुवै देशले एकअर्काविरुद्ध लगातार आक्रमण गरिरहेका छन्। शनिबार राति इरानले मध्य इजरायलतर्फ थप क्षेप्यास्त्र प्रहार गरेको जनाएको छ। जवाफमा इजरायली रक्षा बल (आईडीएफ) ले पनि तेहरानमा हवाई आक्रमण गरेको दाबी गरेको छ।
पछिल्लो इरानी आक्रमणबाट इजरायलमा कम्तीमा १० जनाको ज्यान गएको बताइएको छ। यद्यपि, इरानले इजरायली आक्रमणबाट भएको क्षति तथा हताहतबारे स्पष्ट विवरण सार्वजनिक गरेको छैन।
इरानको तेल मन्त्रालयका अनुसार इजरायलले तेहरानको शाहरान तेल डिपोमा आक्रमण गरी इन्धन ट्याङ्कीहरूलाई निशाना बनाएको छ। तर इरानले अवस्था नियन्त्रणमा रहेको जनाएको छ।
गत शुक्रबारदेखि इजरायलले इरानी आणविक र सैन्य संरचनामाथि ठूलो आक्रमण अभियान थालेको हो। प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले इरानी जनतालाई आफ्ना शासकहरूविरुद्ध उठ्न आह्वान गरेपछि द्वन्द्व झन चर्किएको छ। इजरायली पक्षले यो कारबाही हप्तौंसम्म जारी रहन सक्ने संकेत दिएको छ।












