असार ०२, दाङ । लमही नगरपालिकाका नगरप्रमुख जोगराज चौधरी र उपप्रमुख लक्ष्मी योगीले प्राविधिक टोलीसहित वडा नम्बर ६ र ९ मा सम्पन्न विकास योजनाहरूको अनुगमन गर्नुभएको छ। अनुगमनको क्रममा प्रमुख चौधरीले योजनाहरूको गुणस्तर, समयअनुसारको कार्यान्वयन र जनसहभागिता सुनिश्चित गर्न निर्देशन दिनुभयो। उहाँले भन्नुभयो, “विकास योजना कागजमा मात्र होइन, जमिनमै देखिनुपर्ने हो। त्यसैले योजनाको अनुगमन, मूल्याङ्कन र सुधार हाम्रो प्रमुख जिम्मेवारी हो।”

उपप्रमुख लक्ष्मी योगीले पनि योजनाहरूको प्रभावकारिता र स्थायित्वमा ध्यान दिनुपर्ने आवश्यकता औँल्याउँदै, जनताका अपेक्षाअनुसार सेवा प्रवाह र पूर्वाधार विकासमा नगरपालिकाको प्रतिबद्धता रहेको बताउनुभयो।

अनुगमन टोलीमा प्रमुख र उपप्रमुखसँगै नगरपालिका योजना शाखा प्रमुख सुनिता पोख्रेल, प्राविधिक अधिकृत अमित विश्वकर्मा, सम्बन्धित वडाका जनप्रतिनिधि तथा योजना सरोकारवालाहरूको उपस्थिति थियो। टोलीले सडक, खानेपानी, नाला, भवन लगायतका भौतिक पूर्वाधार योजनाहरूको प्रगति अवलोकन गरेको थियो।

लमही नगरपालिकाले सार्वजनिक स्रोतको पारदर्शी र प्रभावकारी उपयोग तथा योजनाहरूको दीर्घकालीन प्रभाव सुनिश्चित गर्न नियमित अनुगमनलाई प्राथमिकता दिँदै आएको छ। यसले स्थानीय विकासलाई थप गुणस्तरीय, उत्तरदायी र जनमुखी बनाउने विश्वास व्यक्त गरिएको छ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस