काठमाडौँ, असार ४ – स्कटल्यान्डमा जारी त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको दोस्रो खेलमा नेपालले घरेलु टोली स्कटल्यान्डलाई २ विकेटले पराजित गरेको छ। हिजो सम्पन्न खेलमा स्कटल्यान्डले दिएको ९८ रनको लक्ष्य नेपालले १९ ओभर ५ बलमा ८ विकेट गुमाउँदै पूरा गर्याे। नेपालका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक ३० रन बनाए।
टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्यान्ड १९.४ ओभरमा ९७ रनमै समेटिएको थियो। उसका लागि माइकल लिस्कले ४४ रन बनाए। नेपालका सन्दिप लामिछानेले ४ विकेट लिए भने करण केसी र दीपेन्द्र सिंह ऐरीले समान २–२ विकेट लिए।
यो जीतसँगै नेपालले प्रतियोगितामा पहिलो जीत हात पारेको छ र समान २ अङ्कसहित अङ्क तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। स्कटल्यान्ड शीर्ष स्थानमा छ भने नेदरल्यान्ड्स पुछारमा रहेको छ।
नेपालले अब आफ्नो तेस्रो खेल भोलि नेदरल्यान्ड्ससँग र अन्तिम खेल शुक्रवार स्कटल्यान्डसँग खेल्नेछ। तीन टोलीबीचको डबल राउन्ड रोबिनपछि सर्वाधिक अङ्क बटुल्ने टोली विजेता घोषित हुनेछ।












