काठमाडौं , असार ४ । नेकपा (एमाले) का उपाध्यक्ष तथा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पार्टीभित्र देखिएका समस्या समाधान गर्न एमालेको नेतृत्व आफैँ सक्षम रहेको बताउनुभएको छ। उहाँका अनुसार समकालीन राजनीतिक दलहरूबीच एमाले नै सबैभन्दा कम आन्तरिक समस्या भएको पार्टी हो।

एमाले जनसंगठन संयन्त्रको बैठकलाई सम्बोधन गर्दै उपाध्यक्ष पौडेलले भन्नुभयो, “कतै पनि पूर्ण रूपमा निर्दोष पार्टी पाइँदैन। गंगाजल जस्तो, धोएको मुला जस्तो पार्टी पाइँदैन। तर, एमाले कम आन्तरिक समस्या भएको दल हो र देखिएका समस्यालाई समाधान गर्न वर्तमान नेतृत्व सक्षम छ।”

उहाँले पार्टीभित्र देखिएका केही समस्या नीति र विधिका आधारमा समाधान गरिने स्पष्ट पार्नुभयो। साथै, उहाँले पार्टीको विधान महाधिवेशन नजिकिँदै गरेको जानकारी दिँदै त्यसको तयारीमा एमाले लागिरहेको बताउनुभयो।

भदौको तेस्रो साता हुने विधान महाधिवेशनले १०औं महाधिवेशनपछिका कार्यान्वयनका चुनौतीहरू समाधान गर्ने विधि तय गर्ने र विधानमा आवश्यक संशोधन गर्ने उहाँको भनाइ छ। “महाधिवेशनले विगतदेखि हालसम्म देखिएका संगठनात्मक समस्याहरूलाई वैधानिक रूपमा सुधार गर्ने प्रक्रिया अघि बढाउनेछ,” पौडेलले भन्नुभयो, “केन्द्रीय कमिटीले संशोधनका प्रस्तावहरू महाधिवेशन प्रतिनिधिहरूलाई पठाउनेछ, र उनीहरूले समृद्ध बनाउनेछन्।”

उपाध्यक्ष पौडेलले विधान महाधिवेशन नभइकनै नेतृत्वका विषयमा अनावश्यक अनुमान र गुटबन्दी नगर्न आग्रह गर्नुभयो। “विधान महाधिवेशनअघि नेतृत्वका विषयमा छलफल नगरौं, महाधिवेशनले विधि तय गरेपछि मात्र छलफल गरौं। अहिले एमालेमा नेतृत्वको विषयमा कुनै समस्या छैन,” उहाँले स्पष्ट पार्नुभयो।

पार्टी र जनसंगठनमा देखिएको शिथिलता चिर्न सबै लाग्नुपर्नेमा जोड दिँदै उहाँले विगतमा एमालेले जनतालाई सडकमा ल्याउने क्षमता राखेको स्मरण गर्नुभयो। “कुनैबेला सिटी फुकेकै भरमा हजारौं मानिस सडकमा ओइरिन्थे। अहिले किन जनशक्ति सुस्ताएको छ?” उहाँले प्रश्न गर्नुभयो। जनतालाई उर्जा दिने काम जनसंगठनको भएको उल्लेख गर्दै, “जनसंगठन पार्टीका महत्वपूर्ण अंग हुन् र तिनले आफ्नो भूमिका प्रभावकारी रूपमा निर्वाह गर्नुपर्छ,” उहाँले भन्नुभयो।

२०४६/४७ र २०६२/६३ को आन्दोलनका समयमा जनसंगठनहरू शक्तिशाली रहेको स्मरण गर्दै उहाँले अहिले तिनको सक्रियता घटेको बताउनुभयो। “जनसंगठन भनेको पार्टीको ब्याड हो। यहाँ हुर्केका विरुवाहरू पार्टीमा सारिन्छन्,” उहाँले उदाहरण दिनुभयो, “तर अहिले कतिपय जनसंगठनले पार्टीकै कार्यकर्तालाई फेरि जनसंगठनमा राख्ने र पुनः पार्टीमै फर्काउने प्रवृत्ति देखिएको छ, जसले संगठन र पार्टी विस्तारमा बाधा पुग्छ।”

बैठकमा हालै महाधिवेशन सम्पन्न भएका १६ वटा जनसंगठनका इन्चार्ज, अध्यक्ष, निवर्तमान अध्यक्ष र महासचिवहरूको सहभागिता रहेको छ। संयन्त्रका इन्चार्ज भानुभक्त ढकालको सभापतित्वमा बैठक सञ्चालन भइरहेको छ भने सहभागीहरूले आ-आफ्नो प्रतिवेदन प्रस्तुत गरिरहेका छन्।

 

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस