दाङ, असार ४ । मानव कल्याण तथा वातावरण संरक्षण केन्द्र दाङले आज (बुधबार) आफ्नो २३ औं स्थापना दिवसको अवसरमा ‘प्लास्टिक प्रदूषण न्यूनीकरण : हाम्रो भूमिका’ विषयक छलफल कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा हालको गम्भीर वातावरणीय समस्या बनेको प्लास्टिक प्रदूषणले मानव स्वास्थ्य, वन्यजन्तु तथा प्राकृतिक स्रोतसाधनहरूमा पारिरहेको नकारात्मक प्रभावबारे व्यापक छलफल गरिएको थियो। प्लास्टिकजन्य वस्तुहरूको प्रयोगलाई निरुत्साहित गर्दै त्यसको सट्टा स्थानीय स्तरमा उपलब्ध कपडा र धागोजस्ता सामग्रीबाट निर्मित झोलाजस्ता विकल्पहरू कसरी प्रयोगमा ल्याउन सकिन्छ भन्ने विषयमा विचारविमर्श भएको थियो।
उक्त कार्यक्रममा सहभागीहरूलाई प्लास्टिकजन्य प्रदूषणविरुद्धको अभियानस्वरूप कपडा तथा धागोबाट निर्मित झोला (ब्याग) वितरण गरिएको थियो।
कार्यक्रम मानव कल्याण तथा वातावरण संरक्षण केन्द्रका अध्यक्ष कमल गौतमको अध्यक्षता तथा घोराही उपमहानगरपालिका–१५ का वडा अध्यक्ष रमेश कुमार पाण्डेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रममा केन्द्रका पदाधिकारी, विभिन्न संघ–संस्थामा आवद्ध कर्मचारी, जनप्रतिनिधि, पत्रकार लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि वडा अध्यक्ष रमेश कुमार पाण्डेले प्लास्टिक प्रदूषणले हाम्रो स्वास्थ्य, वातावरण र भविष्यलाई गम्भीर चुनौती प्रस्तुत गरिरहेको बताउनुभयो। उहाँले भन्नुभयो, “यसको न्यूनीकरणमा नागरिक, संघ–संस्था र सरकारी निकाय सबैको सक्रिय भूमिका अनिवार्य छ। स्थानीय तहको पहल मात्र पर्याप्त छैन, जबसम्म प्रत्येक नागरिकले आफ्नो जिम्मेवारी बुझेका हुँदैनन्। थोरै सचेतनाले ठूलो परिवर्तन सम्भव छ।”
कार्यक्रमको अध्यक्षता गरिरहेका केन्द्रका अध्यक्ष कमल गौतमले प्लास्टिक प्रदूषणले माटो, पानी, जीवजन्तु र अन्ततः मानव स्वास्थ्यमा गम्भीर असर पारिरहेको उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो, “पछिल्ला वर्षहरूमा प्लास्टिकजन्य फोहोर डरलाग्दो रूपमा वृद्धि भएको छ। यसलाई नियन्त्रण गर्न सरकारले मात्र होइन, प्रत्येक नागरिकको सक्रिय सहभागिता आवश्यक छ। हाम्रो केन्द्रले प्लास्टिक प्रयोग घटाउने, पुनः प्रयोग तथा पुनःचक्रण (रिसाइकल) प्रवर्द्धन गर्ने, साथै वातावरणमैत्री विकल्पहरूलाई बढावा दिने कार्य गर्दै आएको छ।”
हामीले सुरु गर्नु पर्ने पहिलो कदम भनेको आफ्नै व्यवहारमा परिवर्तन ल्याउनु हो, अध्यक्ष गौतमले भन्नुभयो, प्लास्टिक झोलाको सट्टा कपडाको झोला प्रयोग गर्ने, एकपटक प्रयोग हुने प्लास्टिक सामग्री त्याग गर्ने, र अरूलाई पनि यसबारे सचेत गराउनु जरुरी छ।
कार्यक्रममा सहभागीहरूले प्लास्टिक प्रदूषण अहिलेको युगको गम्भीर चुनौती भएको, जसले स्वास्थ्य, वातावरण र भविष्यमा गहिरो असर पारिरहेको बताएका थिए। ‘मानव कल्याण तथा वातावरण संरक्षण केन्द्र, दाङ’ले स्थापना दिवसको अवसरमा उठाएको विषय सान्दर्भिक र प्रेरणादायी भएको भन्दै उनीहरूले घरमैबाट प्लास्टिकको प्रयोग घटाउने, पुनः प्रयोग र रिसाइकल प्रवर्द्धन गर्ने, स्थानीय तहमा सचेतना अभियान सञ्चालन गर्ने र वातावरणमैत्री विकल्पहरू अपनाउने साझा प्रतिबद्धता व्यक्त गरेका थिए।
                
		











