काठमाण्डौ, असार ५ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको दुम्कीबास क्षेत्रमा सडक एकतर्फी खुलेको भए पनि हिजैदेखि सवारीसाधनको लामो जाम लागेको छ। अस्ति मंगलबारको राति विनयी खोलामा आएको बाढीले अस्थायी डाइभर्सन बगाएपछि सडक दुईतर्फी रूपमा अवरुद्ध भएको थियो।

हिजो बेलुकी डाइभर्सन पुनः निर्माण गरी सडक एकतर्फी सञ्चालनमा ल्याइए पनि बाटो चिप्लो भएका कारण सवारीसाधनहरू विस्तारै मात्र गुडिरहेका छन्। त्यसैले लामो जामको अवस्था कायम रहेको जिल्ला प्रहरी कार्यालय, पश्चिम नवलपरासीले जनाएको छ।

खोलाको वेग बढी भएका कारण थोरै मात्रामा बाढी आउँदा पनि डाइभर्सन बगाउने गरेको छ। अहिलेसम्म सो क्षेत्रमा निर्माण गरिएको डाइभर्सन ६ पटक बगाइसकेको जनाइएको छ।

यस्तै, बाटो चिप्लो र हिलो भएका कारण सवारी फस्ने समस्या पनि भइरहेकाले आवागमनमा थप कठिनाइ भएको छ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस