काठमाडौँ, असार ५ । इरान र इजरायलबीच आक्रमण थप तीव्र भइरहेका बेला अमेरिका आफ्नो संलग्नताबारे सोचिरहेको जनाएको छ। यद्यपि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संलग्नताको इच्छा देखाए पनि यसबारे स्पष्ट पुष्टि गरेका छैनन्।
बीबीसीका अनुसार, गएराति पनि इरान र इजरायलले एकअर्कामाथि आक्रमण गरेका छन्। आक्रमण लगातार भइरहँदा राष्ट्रपति ट्रम्पले आफूले चाल्ने कदमबारे कसैले अनुमान गर्न नसक्ने बताएका छन्। तर इरानको अवस्था कठिन हुँदै गएको उनले आँकलन गरेका छन्।
ट्रम्पले इरानकै सहजताका लागि वार्ताको विकल्पमा जोड दिइएको बताएका छन्। तर, इरानले भने अमेरिका र इजरायलका अगाडि कहिल्यै नझुक्ने अडान राख्दै आएको छ। इरानले युद्धविरामलाई असम्भव भन्दै आएको छ।
यसअघि, इरानका सर्वोच्च नेताले चेतावनी दिँदै इजरायली आक्रमणमा अमेरिका सहभागी भएमा त्यसको मूल्य अपूरणीय हुने बताएका थिए।
यता, पछिल्ला तीन दिनमा कम्तीमा ३० अमेरिकी सैन्य विमान युरोपतर्फ पठाइएको छ। ती सबै इन्धन भर्ने ट्याङ्कर विमानहरू हुन्, जुन लडाकु जेट तथा बमवर्षक विमानलाई इन्धन आपूर्ति गर्न प्रयोग गरिन्छ।
इजरायलले गएको शुक्रबार इरानको आणविक क्षेत्रमा आक्रमण गरेपछि सुरू भएको यो तनावपूर्ण द्वन्द्वको बीचमा यस्ता अमेरिकी उडानहरू युरोप पुगेपछि अमेरिकाको सम्भावित संलग्नताबारे अनेक प्रश्न उठ्न थालेका छन्।












