काठमाडौं, असार ६। सूचना प्रविधि (आईटी) उद्योगलाई विदेशमा लगानी गर्न मार्ग खुला भएको छ। नेपाल राष्ट्र बैंकले “विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली, २०७८” को चौथो संशोधनमार्फत सूचना प्रविधि उद्योगलाई विदेशमा लगानी गर्ने अनुमति दिएको हो।

संशोधित विनियमावलीअनुसार सूचना प्रविधि उद्योगले १० लाख अमेरिकी डलरसम्म (वा सो बराबरको अन्य विदेशी मुद्रा) विदेशमा लगानी गर्न सक्नेछ।

राष्ट्र बैंकका अनुसार औद्योगिक व्यवसायसम्बन्धी प्रचलित कानुनअनुसार सूचना प्रविधि उद्योगले आफ्नो चुक्ता पुँजीको सीमाभित्र रही सूचना प्रविधिसम्बन्धी क्षेत्रमा विदेशमा लगानी गर्न आवश्यक विदेशी मुद्राको सटही सुविधा लिन सक्नेछ।

यसबाहेक, विदेशमा लगानी गर्न चाहने सूचना प्रविधि उद्योगले कम्तिमा पछिल्ला तीन आर्थिक वर्षमा सूचना प्रविधिसम्बन्धी सेवा निर्यात गरी विदेशी मुद्रा आर्जन गरेको हुनुपर्ने शर्त विनियमावलीमा उल्लेख गरिएको छ।

विदेशमा लगानी गर्न इच्छुक कम्पनीले राष्ट्र बैंकले तोकेको प्रक्रिया पूरा गरी निवेदन दिनुपर्नेछ। निवेदन प्राप्त भएको १५ दिनभित्र राष्ट्र बैंकले निर्णय गरी जानकारी दिने व्यवस्था पनि विनियमावलीमा समावेश गरिएको छ।

विदेशी विनिमय (फरेन एक्सचेन्ज) नियमन गर्ने कानुनअनुसार, विदेशमा लगानी गर्न स्वीकृति पाएका कम्पनीहरूले प्रत्येक आर्थिक वर्षको समाप्ति पश्चात ६ महिनाभित्र लेखापरीक्षण प्रतिवेदन राष्ट्र बैंकमा पेश गर्नुपर्नेछ।

त्यसैगरी, विदेशबाट प्राप्त हुने लगानी फिर्ता रकम वा आम्दानी नेपाल भित्र्याउँदा बैंकिङ प्रणालीमार्फत ल्याउनुपर्नेछ। साथै, सटही सुविधा लिई गरिएको लगानीमा विदेशी विनिमयको अपचलन भएको वा प्रचलित कानुनको उल्लंघन भएको पाइएमा सम्बन्धित कानुनअनुसार कारबाही गरिने विनियमावलीमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस