काठमाडौँ, असार ७ । सिसाका बोतलमा बिक्री हुने पानी, सोडा, बियर, जाँडरक्सी जस्ता पेय पदार्थमा प्लास्टिकको बोतलको तुलनामा अझ धेरै माइक्रोप्लास्टिक फेला परेको एक अध्ययनले देखाएको छ।
फ्रान्सको खाद्य सुरक्षा निकायले हिजो सार्वजनिक गरेको अध्ययनअनुसार सिसाका बोतलमा माइक्रोप्लास्टिकको मात्रा अपेक्षाकृत धेरै पाइएको हो। यो निष्कर्षलाई वैज्ञानिक तथा विशेषज्ञहरूले आश्चर्यजनक मानेका छन् र भविष्यमा थप अनुसन्धान आवश्यक रहेको बताएका छन्।
अनुसन्धानकर्ताहरूका अनुसार माइक्रोप्लास्टिक भन्नाले प्लास्टिकका अत्यन्त साना, प्रायः अदृश्य कणहरू जनाइन्छ, जुन सास फेर्ने प्रक्रिया, खाना र पानीको माध्यमबाट मानिसको शरीरमा प्रवेश गर्ने गर्छन्।
फ्रान्सेली खाद्य सुरक्षा निकायका अनुसन्धान निर्देशक गुइलाम डुफ्लोसका अनुसार नरम पेय पदार्थ, लेमोनेड, बियर र वाइनका सिसी बोतलमा प्रतिलिटर औसत १०० वटा माइक्रोप्लास्टिक कण भेटिएको छ। एएफपी समाचार संस्थाका अनुसार यो दर प्लास्टिकका बोतल वा धातुका डिब्बामा फेला परेको माइक्रोप्लास्टिकको तुलनामा पाँचदेखि ५० गुणासम्म बढी हो।
उक्त अध्ययन हालै ‘जर्नल अफ फुड कम्पोजिसन एन्ड एनालिसिस’ मा प्रकाशित गरिएको थियो।












