दंगीशरण, असार ९ । दंगीशरण गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। गाउँपालिका अध्यक्ष शम्भु गिरीले आइतबार भएको गाउँसभामा कृषि, स्वास्थ्य, शिक्षा, पर्यटन र रोजगारलाई प्रमुख प्राथमिकतामा राखिएको जानकारी दिनु भएकाे छ ।
नीतिअनुसार, पशुपालनलाई आधुनिकीकरण गरी मासु र दूध उत्पादन प्रवर्धन गरिनेछ। कृत्रिम गर्भाधान सेवा सहज बनाइने र बधिया भाले उत्पादन प्रवर्धनका लागि कुखुराको निःशुल्क वन्ध्याकरण गरिने योजना छ। कृषिमा जैविक मल तथा विषादी उत्पादनको लागि मल उद्योग स्थापना गरिने र रासायनिक मलको प्रयोग घटाइनेछ। शैक्षिक क्षेत्रमा स्मार्ट विद्यालय र डिजिटल कक्षालाई विस्तार गर्ने, स्थानीय पाठ्यक्रम निर्माण गरी थारू भाषामा पनि शिक्षा दिने योजना अघि बढाइनेछ। अपाङ्ग र विपन्न बालबालिकालाई निःशुल्क पोशाक, पाठ्यपुस्तक र शैक्षिक सामग्री उपलब्ध गराइने छ। स्वास्थ्य क्षेत्रमा दंगीशरण आधारभूत अस्पताललाई पूर्ण क्षमतामा सञ्चालन गरी विशेषज्ञ सेवा प्रदान गरिनेछ। गरिब, असहाय, गर्भवती र ज्येष्ठ नागरिकलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने तथा ‘उज्यालो आँखा’, ‘छोरी सम्मान’ लगायत कार्यक्रम निरन्तरता दिइनेछ। थारू संस्कृतिमा आधारित होमस्टे, संग्रहालय र पर्यटकीय पूर्वाधार विकास गरी पर्यटन प्रवर्धन गरिनेछ। जल–पर्यटनका लागि सम्भाव्यता अध्ययन गरी निजी क्षेत्रसँग साझेदारी गरिने योजना छ।
वातावरण संरक्षणका लागि प्लास्टिकको प्रयोग प्रतिबन्ध गरी सौर्य ऊर्जाबाट सडक बत्ती जडान गरिनेछ। साथै छुवाछुतमुक्त र बालमैत्री गाउँपालिका घोषणा गर्ने लक्ष्य लिइएको छ।
संघीय र प्रदेश सरकारसँगको सहकार्यमा सडक स्तरोन्नति गरिनेछ। साथै गाउँपालिकाका कर्मचारी र शिक्षकहरूको कार्यक्षमतामा आधारित सम्मान कार्यक्रम पनि सम्पन्न भएको छ।












