तुलसीपुर, असार ९ । आइतबार तुलसीपुर उपमहानगरपालिकाले आफ्नो १७औँ नगरसभामा आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। नगरप्रमुख टीकाराम खड्काले आगामी वर्षका योजना तथा कार्यक्रमहरू प्रस्तुत गर्नुभएको हो।

नीतिमा स्थानीय उत्पादन र पर्यटन विकासलाई उच्च प्राथमिकतामा राखिएको छ। नगरप्रमुख खड्काले ‘एक वडा, एक कृषि उत्पादन, संकलन तथा प्रवद्र्धन केन्द्र’ स्थापना गरिने जानकारी दिनुभएको छ। यसअन्तर्गत वडास्तरीय हाटबजार सञ्चालन गरिने, स्थानीय उत्पादनको बजार विकासका लागि निश्चित स्थान निर्धारण गरिने, बाह्य उत्पादनको आयात कम गर्ने तथा कृषि क्षेत्रमा ५० प्रतिशत अनुदानसहित यान्त्रिकीकरणलाई प्रवद्र्धन गरिने कार्यक्रमहरू समावेश छन्। करार खेती र बगर खेतीलाई पनि प्रवद्र्धन गरिने योजना छ। साथै, कृषि पकेट क्षेत्रको पहिचान र विस्तारसँगै कृषि मेला सञ्चालन गरिने व्यवस्था गरिएको छ।

पशुसेवा क्षेत्रमा हाल सञ्चालनमा रहेका वडा ३, १४ र १९ का पशुसेवा केन्द्रलाई थप प्रभावकारी बनाउँदै निःशुल्क खोप कार्यक्रम सञ्चालन गरिनेछ। कृषकहरूलाई पशुपालनसम्बन्धी ज्ञान तथा सीप प्रदान गर्ने तालिमहरू पनि आयोजना गरिने नीति दस्तावेजमा उल्लेख छ। सहकारी क्षेत्रलाई पनि मुख्य प्राथमिकतामा राखिएको छ। ‘सबल सहकारी, रोजगारी सृजना’ अभियानमार्फत् सहकारी संस्थाहरूलाई स्थानीय कच्चापदार्थमा आधारित घरेलु तथा साना उद्योगको प्याकेजिङ, भण्डारण र बजारीकरणमा सहयोग गरिने नीति बनाइएको छ। ‘एक सहकारी, एक उत्पादन’ को अवधारणालाई पनि प्रभावकारी रूपमा लागू गरिने योजना रहेको छ।

पर्यटन प्रवद्र्धनका लागि आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न विकास गुरुयोजना तयार पारिनेछ। ‘एक वडा, एक पर्यटकीय स्थल’ अभियानअनुसार छिल्लीकोट, थर्कोट, चमेरे गुफा, राप्ती शान्ति उद्यान, जन्तीढुङ्गा, गौरीगाउँ ताल, राधाकृष्ण मन्दिरलगायत स्थानहरूमा विकास कार्य गरिनेछ। स्थानीय सांस्कृतिक सम्पदाको संरक्षणमा तुलसी महिला नौमती बाजा समूह लगायत परम्परागत बाजाहरूलाई प्रवद्र्धन गरिने पनि उल्लेख छ।

शिक्षा र स्वास्थ्य क्षेत्रमा समेत नीति निर्माण गरिएको छ। सबै बालबालिकालाई विद्यालय भर्ना गराउने, किताबरहित कक्षा सञ्चालन गर्दै सीपमूलक कार्यक्रमहरू सञ्चालन गर्ने योजना छ। खेलकूद क्षेत्रको विकासका लागि मेयर कप, राष्ट्रपति रनिङ शिल्ड र वडास्तरीय प्रतियोगिताहरू आयोजना गरिने नीति अनुसार हुनेछ। स्वास्थ्य सेवाहरू संविधानले व्यवस्था गरे अनुसार सबै नागरिकसम्म पु¥याउने, मेट्रो अस्पतालमा विशेषज्ञ सेवा विस्तार गर्ने र अस्पताललाई स्थानीय स्वास्थ्य आपतकालीन केन्द्रको रूपमा विकास गर्ने योजना राखिएको छ। साथै, ‘मेयर स्वास्थ्य मुटु अभियान’ कार्यान्वयन गरी नसर्ने रोग रोकथाम गरिने र किशोरी, आमा तथा युवतीलाई लक्षित यौन तथा प्रजनन स्वास्थ्य कार्यक्रम सञ्चालन गरिने पनि नीति दस्तावेजमा समावेश छ।

महिला सशक्तिकरणका लागि आर्थिक क्षेत्रमा महिलाको सहभागिता बढाउने, हिंसाविरुद्ध सचेतना कार्यक्रम चलाउने र ‘स्मार्ट छोरी कार्यक्रम’लाई निरन्तरता दिने योजना अगाडि सारिएको छ। आगामी वर्षको नीति तथा कार्यक्रममा वातावरण संरक्षण, कृषि, शिक्षा र पर्यटन प्रवद्र्धनलाई प्राथमिकतामा राखिएको छ। सार्वजनिक स्थानहरूमा रहेको वरपिपल, सिमसार क्षेत्र लगायतका रुखहरूको संरक्षण गरिनेछ भने सार्वजनिक स्थानहरूमा एक हजार वरपिपलका बिरुवा रोप्ने योजना पनि समावेश छ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस