रोल्पा, असार ९ । रोल्पा नगरपालिकाको आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि नीति तथा कार्यक्रम आज ( सोमबार ) नगरसभामा प्रस्तुत गरी छलफलपछि पारित गरिएको छ। नगरपालिकाको सचिवालयका अनुसार प्रस्तावित नीति तथा कार्यक्रम केही समय छलफल गरी सोही दिन अनुमोदन गरिएको हो।

नगरसभाको १७औँ अधिवेशनको पहिलो बैठकमै नीति तथा कार्यक्रम पारित गरिएको छ। नगरप्रमुख सुरेन्द्र थापा घर्तीले आजको बैठकमा दफावार छलफलपछि अन्तिम रूप प्रदान गरी नीति तथा कार्यक्रम स्वीकृत गरिएको जानकारी दिनुभयो।

वर्षे अधिवेशनको अध्यक्षता नगर उप–प्रमुख गीता आचार्यले गर्नुभएको थियो भने सभा सचिवको जिम्मेवारी प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्माले वहन गर्नुभएको थियो। अधिवेशनमा नगरपालिकाका आठै वडाका वडाध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य, विभिन्न शाखाका प्रमुख तथा कर्मचारी, सुरक्षाकर्मी, पत्रकार लगायतको उपस्थिति रहेको थियो।

अधिवेशनमा सभाध्यक्षले शिक्षा, स्वास्थ्य, खानेपानी, विद्युत, पूर्वाधार, सामाजिक तथा आर्थिक विकास र सुशासनका क्षेत्रमा नगरपालिकाले हालसम्म गरेका कामहरूको जानकारी गराउनुभयो। साथै, आगामी वर्षमा कार्यान्वयनमा ल्याइने कार्यक्रमहरू पनि सभामा प्रस्तुत गरिएको थियो ।

सभामा पारित नीति तथा कार्यक्रमअनुसार भोलि नगरपालिकाको आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट सभामा पेस गरिनेछ। उक्त सभा मङ्गलबार बिहान ११ बजे नगरपालिकाको सभाहलमा बोलाइएको छ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस