घाेराही, असार १० । घोराही उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि २ अर्ब २९ करोड २९ लाख रुपैयाँ बजेट सार्वजनिक गरेको छ। उक्त बजेट उपमहानगरपालिकाको १७ औँ नगरसभामा नगर उपप्रमुख हुमाकुमारी डिसीले पेश गर्नुभएको हो।

नगर उपप्रमुख डिसीले प्रस्तुत गर्नुभएको बजेटमा पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी सिर्जना, सामाजिक सुरक्षा, सूचना प्रविधि र नगर सुशासनलाई प्राथमिकता दिइएको उल्लेख गरिएको छ। उहाँले बजेट निर्माण गर्दा समावेशी विकास, पारदर्शिता, जनउत्तरदायित्व र दिगोपनालाई मुख्य आधार बनाइएको जानकारी दिनुभयो।

नगरसभाको उद्घाटन गर्दै नगरप्रमुख नरुलाल चौधरीले सबै क्षेत्रको सहकार्यबाट घोराहीलाई समुन्नत, व्यवस्थित र आत्मनिर्भर उपमहानगर बनाइने उद्देश्य रहेको बताउनुभयो। उहाँले सार्वजनिक, निजी र सहकारी क्षेत्रबीचको सहकार्यबाट विकासका कामहरूलाई गति दिइने समेत स्पष्ट गर्नुभयो।

नगरपालिकाले अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा २ अर्ब ४२ करोड ७७ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको थियो। चालु वर्षको बजेट अघिल्लो वर्षको तुलनामा केही कम रहेको देखिन्छ। बजेटमार्फत स्थानीय विकासलाई प्रभावकारी बनाउने र जनताको जीवनस्तर उकास्ने लक्ष्य रहेको उपमहानगरपालिकाले जनाएको छ।

नगरसभामा वडा अध्यक्षहरू, नगर कार्यपालिका सदस्यहरू, स्थानीय प्रतिनिधिहरू, नागरिक समाज, पत्रकार तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस