रोल्पा, असार १० । रोल्पा नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ८० करोड १ लाख ९९ हजार रुपैयाँको बजेट पारित गरेको छ। नगरपालिकाको १७औँ नगर सभाबाट उक्त बजेट पारित भएको हो।
असार ९ र १० गते सम्पन्न नगर सभाबाट आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम र बजेट सर्वसम्मत रुपमा पारित गरिएको नगर प्रमुखको सचिवालयले जनाएको छ। असार ९ गते नीति तथा कार्यक्रम सभामा पेश गरिएकै दिन पारित गरिएको थियो भने असार १० गते बजेट प्रस्तुत गरिएर त्यही दिन पारित गरिएको हो।
नीति तथा कार्यक्रम नगर प्रमुख तथा नगर सभाध्यक्ष सुरेन्द्र थापा घर्तीले पेश गर्नु भएको थियो। त्यस्तै, बजेट नगर उपप्रमुख तथा सभाका उपाध्यक्ष गीता आचार्यद्वारा प्रस्तुत गरिएको थियो।
नगरसभामा वडा अध्यक्षहरू, नगर कार्यपालिका सदस्यहरू, स्थानीय प्रतिनिधिहरू, नागरिक समाज, पत्रकार तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। प्रमुख प्रशासकीय अधिकृत तथा सभा सचिव रामप्रसाद शर्माका अनुसार आगामी वर्षको बजेटले आय आर्जन र सामाजिक विकासलाई प्राथमिकता दिएको छ।
नगरपालिकाले कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधार, वन, वातावरण तथा पर्यटन विकासजस्ता क्षेत्रहरूलाई विशेष प्राथमिकता दिँदै बजेट विनियोजन गरेको छ। सभामा विभिन्न विधेयकहरू समेत प्रस्तुत गरिएका थिए, जसलाई पनि असार ९ र १० गते सम्पन्न सभामार्फत पारित गरिएको हो।
बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउनका लागि नगर सभाले ११ बुँदे निर्णयहरू समेत गरेको जानकारी दिएको नगर प्रमुखकाे सचिवालयले जनाएकाे छ ।












