दाङ, असार ११ । संविधानअनुसार असार १० भित्र आगामी आर्थिक वर्षको बजेट स्थानीय तहका सभामा पेश गर्नुपर्ने व्यवस्था अनुसार दाङ जिल्लाका दशवटै स्थानीय तहले मंगलबार २०८२/८३ सालको अनुमानित बजेट प्रस्तुत गरेका छन्।
दाङका उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाका उपप्रमुख तथा उपाध्यक्षहरूले नगर तथा गाउँसभामा आर्थिक विधेयकसहित बजेट प्रस्ताव गरेका हुन्।
जिल्लाभरि कुल ९ अर्ब ३५ करोड १३ लाख रुपैयाँभन्दा बढीको बजेट प्रस्ताव गरिएको छ। सबैभन्दा बढी बजेट घोराही उपमहानगरपालिकाले दुई अर्ब २९ करोड २७ लाख रुपैयाँ प्रस्तुत गरेको छ भने सबैभन्दा कम बजेट दंगीशरण गाउँपालिकाले ४५ करोड ११ लाख रुपैयाँ प्रस्ताव गरेको छ।
यसबाहेक, तुलसीपुर उपमहानगरपालिकाले दुई अर्ब छ करोड ६६ लाख, लमही नगरपालिकाले ८८ करोड ३१ लाख, गढवा गाउँपालिकाले ७८ करोड ७५ लाख, राप्ती गाउँपालिकाले ६३ करोड ६१ लाख, बंगलाचुलीले ६२ करोड ६६ लाख, राजपुरले ६० करोड २४ लाख, बबईले ५१ करोड ५४ लाख र शान्तिनगर गाउँपालिकाले ४८ करोड ९८ लाख रुपैयाँ बजेट प्रस्ताव गरेका छन्।
बजेट असन्तुलनबारे विवाद
बबई गाउँपालिकाको बजेट प्रस्तुत भए पनि उक्त बजेट सन्तुलित नभएको भन्दै गाउँसभा स्थगित भएको छ। सभामा उठेको विरोधपछि असार २९ गतेसम्मका लागि बैठक स्थगित गरिएको हो। बजेट पुनरावलोकन गर्दै संशोधन गरी पेस गर्नुपर्ने माग सभा सदस्यहरूले गरेका छन्।
घोराहीको बजेट: दुई अर्ब २९ करोड
घोराही उपमहानगरपालिकाले दुई अर्ब २९ करोड २७ लाख रुपैयाँको बजेट प्रस्ताव गरेको छ। उपप्रमुख हुमाकुमारी डिसीले नगरसभामा बजेट प्रस्तुत गर्दै चालु खर्चतर्फ ५६.१६ प्रतिशत र पुँजीगत खर्चतर्फ ४३.८४ प्रतिशत विनियोजन गरिएको जानकारी दिनुभयो।
बजेटमा कृषि, स्वास्थ्य, शिक्षा, सामाजिक सुरक्षा, पूर्वाधार र उद्यम प्रवर्द्धनका कार्यक्रमहरू समावेश छन्। कृषि विकासका लागि चार करोड ६३ लाख, पशुपालन र माछा पालनका लागि ६६ लाख, सीपमूलक तालिमका लागि ३४ लाख ५० हजार, शिक्षक व्यवस्थापन र सहयोगी कर्मचारीका लागि करिब पाँच करोड, स्वास्थ्यतर्फ आठ करोड ३० लाख बजेट विनियोजन गरिएको छ।
पूर्वाधार विकासतर्फ ७९ करोड ९४ लाख छुट्याइएको छ भने विपद् व्यवस्थापन, सञ्चार, भूमिहीन/सुकुम्बासी सहायता, र वडा बजेटसमेत समेटिएको छ।
तुलसीपुरको बजेट: दुई अर्ब ६ करोड
तुलसीपुर उपमहानगरपालिकाले प्रस्तुत गरेको दुई अर्ब छ करोड ६६ लाख रुपैयाँको बजेटमा शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखिएको छ। शिक्षा, युवा र खेलकुदतर्फ ६० करोडभन्दा बढी छुट्याइएको छ।
त्यस्तै दमकल, फोहोर व्यवस्थापन, उद्यम प्रवर्द्धन, विपद् व्यवस्थापन, स्मार्ट छोरी अभियान, दिदीघर, सुस्तश्रवण विद्यार्थीका लागि छात्रावास, मानव सेवा आश्रम भवन लगायत विविध शीर्षकमा बजेट विनियोजन गरिएको छ।
अन्य पालिकाहरूको बजेट संक्षेपमा
-
लमही नगरपालिका: कुल बजेट ८८ करोड ३१ लाख। प्रशासन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि, आयुर्वेद, पर्यटन लगायत शाखाहरूमा बजेट विनियोजन।
-
गढवा गाउँपालिका: ७८ करोड ७५ लाख बजेट। शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी र पूर्वाधारलाई प्राथमिकता।
-
बंगलाचुली गाउँपालिका: ६२ करोड ६६ लाख बजेट। शिक्षा र पूर्वाधार निर्माणमा उच्च बजेट छुट्याइएको।
-
शान्तिनगर गाउँपालिका: ४८ करोड ९८ लाख बजेट। सामाजिक विकास, पूर्वाधार, सुशासन, कृषि तथा पशुपालन कार्यक्रम समावेश।
-
राजपुर गाउँपालिका: ६० करोड २४ लाख बजेट। संघ र प्रदेशबाट प्राप्त अनुदान तथा आन्तरिक स्रोत प्रयोग गरी बजेट निर्माण।
-
राप्ती गाउँपालिका: ६३ करोड ६१ लाखको बजेट। शिक्षा, स्वास्थ्य, कृषि र उद्यमशीलतालाई प्राथमिकता दिइएको।
-
दंगीशरण गाउँपालिका: ४५ करोड ११ लाख बजेट। संघीय र प्रदेश सरकारबाट प्राप्त अनुदान मुख्य स्रोत।
सबै पालिकाले शिक्षा, स्वास्थ्य, पूर्वाधार, कृषि र सीप तथा उद्यम विकासलाई प्राथमिकतामा राखेका छन्। यद्यपि अधिकांश पालिकाहरूले आन्तरिक आम्दानीले मात्र सञ्चालन असम्भव भएको भन्दै संघ र प्रदेश सरकारबाट प्राप्त अनुदानलाई प्रमुख आर्थिक स्रोतका रूपमा लिएका छन्।












