भरत वली

रोल्पा, असार १०।रोल्पा जिल्लाका आठवटा स्थानीय तहले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ४अर्ब ३करोड रुपैयाँभन्दा बढीको बजेट सार्वजनिक गरेका छन्। नगर तथा गाउँसभामार्फत नीति, कार्यक्रम र बजेट पारित गरिएको हो।सबैभन्दा ठूलो बजेट रोल्पा नगरपालिकाले ल्याएको छ, जसले ८० करोड रुपैयाँ विनियोजन गरेको छ। त्यस्तै, लुंग्री गाउँपालिकाले झण्डै ४९ करोड, परिवर्तन गाउँपालिकाले ४८ करोड ४४ लाख, गंगादेव गाउँपालिकाले ४६ करोड ५८ लाख, सुनिलस्मृति गाउँपालिकाले ५६ करोड ५४ लाख, माडी गाउँपालिकाले ४२ करोड ४२ लाख, सुनछहरी गाउँपालिकाले ४४ करोड २४ लाख र रुन्टीगढी गाउँपालिकाले ६१ करोड ५७ लाख रुपैयाँ बराबरको बजेट प्रस्ताव गरेका हुन्।प्रायः सबै पालिकाहरूले कृषि, शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार र रोजगारी सिर्जनालाई प्राथमिकता दिएका छन्। बजेटमा संघीय र प्रदेश सरकारबाट प्राप्त अनुदानसहित आन्तरिक आम्दानीलाई समेत स्रोतको रूपमा समेटिएको छ।यसबर्ष त्रिवेणी गाउँपालिकामा भने बजेट प्रस्तुति अघि नै वडाध्यक्षहरूको असहमतिको कारण कार्यालयमा तालाबन्दी गरिएको थियो। यसले बजेट निर्माणमा राजनीतिक समिकरणको प्रभाव देखिएको विश्लेषण गरिएको छ।समग्रमा, रोल्पाका स्थानीय तहहरूले समावेशी विकास, सेवा प्रवाह सुधार र सामाजिक उत्तरदायित्वलाई ध्यानमा राख्दै बजेट प्रस्तुत गरेका छन्।

रोल्पा जिल्लाको समग्र बजेतको अबस्था:

रोल्पा नगरपालिकाले ८० करोडको बजेट पारित

रोल्पा नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि ८० करोड १ लाख ९९ हजार रुपैयाँको बजेट पारित गरेको छ। नगरपालिकाको १७ औँ नगरसभाबाट प्रस्तुत नीति, कार्यक्रम र बजेट सर्वसम्मत रूपमा स्वीकृत भएको हो।

नगरसभाको बैठक असार ९ र १० गते सम्पन्न भएको थियो। असार ९ गते नगरप्रमुख तथा नगरसभा अध्यक्ष सुरेन्द्र थापा घर्तीले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो भने बजेट उपप्रमुख गीता आचार्यले असार १० गते प्रस्तुत गर्नुभएको थियो। दुवै दस्तावेजहरू सोही दिन पारित गरिएको नगरप्रमुखको सचिवालयले जानकारी दिएको छ।

बैठकमा सम्पूर्ण नगरसभा सदस्यहरूको उपस्थिति रहेको थियो। प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्माका अनुसार बजेटले आम्दानी वृद्धिसँगै सामाजिक विकासलाई विशेष प्राथमिकता दिएको छ।

नगरपालिकाले कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधार, वातावरण संरक्षण तथा पर्यटन प्रवर्द्धनलाई प्राथमिक क्षेत्रका रूपमा राखेर बजेट विनियोजन गरेको जनाएको छ।

साथै, बैठकमा विभिन्न विधेयकहरू पनि प्रस्तुत भई पारित भएका छन्। पारित बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउन ११ बुँदे निर्णय समेत स्वीकृत गरिएको छ।

सुनिलस्मृति गाउँपालिकाको ५६ करोड ५४ लाखको बजेट स्वीकृत

सुनिलस्मृति गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि ५६ करोड ५४ लाख २ हजार ९४९ रुपैयाँको बजेट पारित गरेको छ।

सोमबार सम्पन्न गाउँसभामा उपाध्यक्ष मिना थापाले बजेट प्रस्तुत गर्नुभएको थियो, जसलाई सभाले सर्वसम्मत रूपमा अनुमोदन गरेको हो। बैठकको अध्यक्षता गाउँपालिका अध्यक्ष मणिराम बुढाथोकीले गर्नुभएको थियो।

गाउँपालिकाले कृषि, शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, पर्यटन, रोजगारी सिर्जना र सेवा प्रवाह सुधारलाई प्राथमिकता दिएर बजेट विनियोजन गरेको जनाएको छ।

बजेट तयारीमा वडास्तरदेखि नागरिक समाजसम्मको सुझाव समेटिएको र सिमित स्रोत साधनलाई विचार गरेर यथार्थपरक र प्राथमिकतामा आधारित कार्यक्रमहरू तय गरिएको गाउँपालिकाले स्पष्ट पारेको छ।

जनअपेक्षा अनुरूप सेवा दिनुपर्ने चुनौतीलाई स्वीकार्दै बजेटको प्रभावकारी कार्यान्वयनमा विशेष जोड दिने प्रतिबद्धता गाउँपालिकाले व्यक्त गरेको छ।

 

सुनछहरी गाउँपालिकाको ४४ करोड २४ लाखको बजेट पारित

सुनछहरी गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि ४४ करोड २४ लाख रुपैयाँको बजेट सर्वसम्मत रूपमा पारित गरेको छ। अध्यक्ष धनबहादुर पुनमगरद्वारा प्रस्तुत नीति तथा कार्यक्रम पनि स्वीकृत गरिएको हो।

शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार, सामाजिक सुरक्षा र पर्यटनजस्ता मुख्य क्षेत्रहरूमा विशेष प्राथमिकता दिइएको बजेटमा उल्लेख छ। गुणस्तरीय शिक्षामा लगानी बढाइ एकीकृत सेवा प्रवाह सुनिश्चित गरिने लक्ष्य लिइएको छ।

स्वास्थ्य सेवा सुधार, कृषक उत्पादन वृद्धिका लागि तालिम र प्रविधि हस्तान्तरण, पूर्वाधार निर्माणमा सडक, पुल, खानेपानी र सिँचाइलाई जोड दिइएको छ। साथै लक्षित सामाजिक सुरक्षा कार्यक्रमहरू पनि समावेश गरिएको छ।

पर्यटन प्रवर्द्धनमार्फत आर्थिक समृद्धिमा योगदान पुर्‍याउने लक्ष्यसहित गाउँपालिकाले विकासको खाका कोरेको जनाएको छ।

लुंग्री गाउँपालिकाको करिब ४९ करोडको बजेट पारित

लुंग्री गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि ४८ करोड ९६ लाख ६६ हजार रुपैयाँको बजेट पारित गरेको छ। मंगलबार सम्पन्न गाउँसभाको १९ औँ अधिवेशनको दोस्रो बैठकमा उपाध्यक्ष दिलकुमारी गुरुङले बजेट प्रस्तुत गर्नुभएको हो।

बजेटमा चालू खर्चतर्फ ३४ करोड ८२ लाख ७० हजार र पूँजीगत खर्चतर्फ १४ करोड १४ लाख रुपैयाँ विनियोजन गरिएको छ।

गाउँपालिकाले सामाजिक विकास, पूर्वाधार, आर्थिक क्षेत्र, सुशासन र प्रशासन सञ्चालनतर्फ छुट्याएको बजेट क्रमशः २९ करोड ९३ लाख, ५ करोड १४ लाख, १ करोड ३४ लाख, १ करोड ३२ लाख र ११ करोड २२ लाख रहेको छ।

संघीय सरकारबाट अनुदानमार्फत ४३ करोडभन्दा बढी, प्रदेश सरकारबाट करिब ३ करोड ५० लाख र आन्तरिक स्रोत, बैंक मौज्दातसहित अन्य आम्दानीबाट बाँकी रकम जुटाइनेछ।

गाउँपालिकाले कृषि, पूर्वाधार, शिक्षा, स्वास्थ्य र पर्यटनलाई प्राथमिकतामा राखेर बजेट तयार पारेको जनाएको छ।

परिवर्तन गाउँपालिकाले ४८ करोड ४४ लाखको बजेट पारित

परिवर्तन गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ४८ करोड ४४ लाख ४८ हजार ३२० रुपैयाँ बराबरको अनुमानित बजेट सार्वजनिक गरेको छ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ र अन्तर सरकार वित्त व्यवस्थापन ऐनको दफा २१ अनुसार प्रत्येक असार १० गतेभित्र बजेट पेस गर्नुपर्ने कानुनी प्रावधानअनुसार यो बजेट पुतलाचौरस्थित गाउँपालिकाको बहुउद्देश्यीय सभाहलमा बसेको १९ औं गाउँसभाबाट प्रस्तुत गरिएको हो।

सभा प्रवक्ता तथा वडा नम्बर २ का अध्यक्ष हरिप्रसाद बुढा मगरका अनुसार संघीय सरकारबाट समानीकरण, सशर्त, विशेष, पूरक अनुदान तथा राजस्व बाँडफाँडबाट करिब ४४ करोड ६२ लाख रुपैयाँ प्राप्त हुने अपेक्षा गरिएको छ। लुम्बिनी प्रदेश सरकारबाट समेत ३ करोड ४६ लाख रुपैयाँभन्दा बढी रकम आउने अनुमान गरिएको छ। आन्तरिक आम्दानीतर्फ ३६ लाख रुपैयाँ सङ्कलन गरिने लक्ष्य लिइएको छ।

कुल बजेटमध्ये ६० प्रतिशत चालू खर्च र ४० प्रतिशत पूँजीगत खर्चका लागि विनियोजन गरिएको जनाइएको छ।

त्रिवेणी गाउँपालिकामा बजेटलाई लिएर विवाद, सभा अगावै तालाबन्दी

त्रिवेणी गाउँपालिकाको आगामी आर्थिक वर्षको बजेटप्रति असहमति जनाउँदै गाउँसभा सुरु हुनु अगावै कार्यालयमा तालाबन्दी गरिएको छ।

अध्यक्ष कर्ण बाठाद्वारा प्रस्तुत हुन लागेको बजेट प्रस्ताव विभाजनकारी र असमान भएको आरोप लगाउँदै माओवादी केन्द्रका चारजना वडाध्यक्षहरूले असहमति जनाएका हुन्। बजेट सिलिङमा सहमति जुटाउन गरिएको छलफल सफल नभएपछि तालाबन्दी गरिएको जनाइएको छ।

स्थानीय तहमा बजेटप्रति असहमति चुलिँदै गएको बेला संघीय र प्रदेश सरकारको बजेट समेत आलोचनाको केन्द्रमा रहेको छ। सत्ता गठबन्धनकै सांसदहरूले संघीय बजेटप्रति असन्तुष्टि व्यक्त गरेका छन् भने लुम्बिनी प्रदेशमा प्रतिपक्षी दलहरूले बजेट संशोधन नगरे संसद अवरुद्ध गर्ने चेतावनी दिएका छन्।

माओवादी संसदीय दल नेता जोखबहादुर महराले न्यूनतम मापदण्ड नपुगेको भन्दै बजेट पुनः ल्याउन माग गरेका छन्। त्यस्तै एमाले र कांग्रेसका नेताहरूले पनि सामाजिक सञ्जालमार्फत बजेटमाथि आलोचना गरेका छन्।

त्रिवेणी गाउँपालिकामा अध्यक्ष एमालेका कर्ण बाठा र उपाध्यक्ष कांग्रेसकी लेखमनी डाँगी रहेको पृष्ठभूमिमा बजेट विवाद राजनीतिक प्रभावले तातिएको देखिएको छ।

गंगादेव गाउँपालिकाको बजेट ४६ करोड ५८ लाख

गंगादेव गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि ४६ करोड ५८ लाख ४८ हजार रुपैयाँ बराबरको अनुमानित बजेट सार्वजनिक गरेको छ।

बजेट अनुसार ३४ करोड ६८ लाख रुपैयाँ चालू खर्च र ११ करोड ९० लाख ९६ हजार पूँजीगत खर्चतर्फ विनियोजन गरिएको छ।

संघीय सरकारबाट समानीकरण अनुदान ८ करोड ७३ लाख, सशर्त अनुदान २० करोड ४९ लाख, विशेष अनुदान ३ करोड ६९ लाख, समपूरक अनुदान ६६ लाख र राजस्व बाँडफाँडबाट ९ करोड ११ लाख रुपैयाँ प्राप्त हुने अपेक्षा गरिएको छ।

प्रदेश सरकारबाट विभिन्न शीर्षकमा करिब २ करोड ६० लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ। साथै, आन्तरिक आम्दानी ३० लाख ५० हजार र बैंक मौज्दातबाट १ करोड रुपैयाँ स्रोत रहेको जनाइएको छ।

दैनिक प्रशासनिक खर्च, तलब भत्ता, पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि, वातावरण संरक्षण, श्रम, रोजगार, खेलकुद र महिला बालबालिकासम्बन्धी कार्यक्रमहरू बजेटमा समेटिएका छन्।

माडी गाउँपालिकाको ४२ करोड ४२ लाखको बजेट स्वीकृत

माडी गाउँपालिकाले “कृषि, पशुपंक्षी, जडीबुटी र दिगो पूर्वाधार: समृद्ध माडीको आधार” भन्ने नारासहित आगामी आर्थिक वर्षको लागि ४२ करोड ४२ लाख ९४ हजार रुपैयाँको बजेट सार्वजनिक गर्दै पारित गरेको छ।

अध्यक्ष अमरसिंह घर्तिमगरका अनुसार सबैभन्दा बढी बजेट शिक्षा क्षेत्रमा विनियोजन गरिएको छ। त्यसपछिको प्राथमिकता कृषि, पशुपालन र स्थानीय पूर्वाधार विकासमा राखिएको छ।

आर्थिक विकास समिति संयोजक खर्कबहादुर पुनले गाउँसभाको १७ औँ अधिवेशनमा बजेटसहित आर्थिक ऐन, विनियोजन ऐन, न्यायिक समितिको प्रतिवेदन समेत प्रस्तुत गर्नुभएको थियो।

गत असार ४ गते प्रस्तुत नीति तथा कार्यक्रमपश्चात बजेट पनि पारित भएसँगै गाउँसभाको अधिवेशन समापन भएको हो।

रुन्टीगढी गाउँपालिकाको ६१ करोड ५७ लाखको बजेट सार्वजनिक

रुन्टीगढी गाउँपालिकाले आर्थिक वर्ष २०८०/८१ का लागि कुल ६१ करोड ५७ लाख रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। “सुखी र समृद्धः अबको रुन्टीगढी” भन्ने मूल नारासहित नीति तथा कार्यक्रम पारित गरेपछि १४औं गाउँसभाको दोस्रो बैठकले बजेट प्रस्तुत गरेको हो।

चालू खर्चतर्फ गाउँपालिका प्रशासनको लागि ११ करोड ३ लाख ६४ हजार, वडाहरूको लागि १ करोड ७४ लाख ७५ हजार, विषयगत शाखाहरूका लागि ३ करोड ३ लाख, सामाजिक सुरक्षा कार्यक्रमका लागि ८ करोड रुपैयाँ विनियोजन गरिएको छ। यस्तै, प्रदेश तथा स्थानीय तहको क्षमता अभिवृद्धिका लागि ४ लाख र संघ/संस्था सञ्चालन कार्यक्रमतर्फ ९ लाख ८८ हजार ५५१ रुपैयाँ छुट्याइएको छ।

संघीय सरकारबाट प्राप्त हुने सशर्त अनुदानबाट २३ करोड २५ लाख र प्रदेश सरकारबाट चालू खर्चतर्फ ६ लाख ५० हजार प्राप्त हुने अनुमानसहित चालू खर्चको कुल रकम ४७ करोड २६ लाख ७७ हजार ५५१ रुपैयाँ पुगेको छ।

पुँजीगत खर्चतर्फ गाउँपालिकाले २ करोड ६९ लाख ३३ हजार ४४९, वडाहरूका लागि ५ करोड ७५ लाख ८९ हजार, संघीय सशर्त पुँजीगत अनुदानमार्फत ८० लाख, समपूरक अनुदान १ करोड, विशेष अनुदान ७० लाख, प्रदेश सरकारमार्फत सशर्त अनुदान ७५ लाख, समपूरक अनुदान २ करोड र समपूरक कोषतर्फ ६० लाख रुपैयाँ विनियोजन गरिएको छ। यसरी पुँजीगत खर्चको कुल रकम १४ करोड ३० लाख २२ हजार ४४९ रुपैयाँ रहेको छ।

सभाबाट प्रस्तुत बजेटमाथि छलफलपछि आगामी असार १८ गते बस्ने गाउँसभाको तेस्रो बैठकमा अनुमोदन गरिने कार्यक्रम रहेको गाउँपालिकाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस