बुटवल, असार १२ । भूमि सम्बन्धी समस्या समाधान आयोगले दाङमा पहिलोपटक भूमिहीन सुकुम्बासीलाई जग्गाधनी प्रमाण–पत्र (लालपुर्जा) वितरण गरेको छ। लमही नगरपालिका–३ स्थित कान्छीगाउँका २३ घरधुरीलाई ८ धुरदेखि १ कट्ठासम्मको बसोबास योग्य जग्गाको लालपुर्जा प्रदान गरिएको हो।

उक्त कार्यक्रम भूमि समस्या समाधान आयोगका केन्द्रीय अध्यक्ष हरिप्रसाद रिजाल, जिल्ला समन्वय समिति प्रमुख नित्यानन्द शर्मा, लमही नगरपालिकाका प्रमुख जोगराज चौधरी, आयोगका जिल्ला अध्यक्ष हुकुमबहादुर बस्नेत, उपप्रमुख लक्ष्मी योगी लगायतको संयुक्त उपस्थितिमा सम्पन्न भएको हो।

जिल्ला समितिको २०८२ साल जेठ ११ गते बसेको बैठकले भूमिहीन सुकुम्बासीलाई लालपुर्जा दिने निर्णय गरेको थियो। सोही निर्णयअनुसार यसपटक वितरण प्रक्रिया अघि बढाइएको हो।

अध्यक्ष रिजालले तोकिएको समयभित्र भूमिहीन सुकुम्बासी, भूमिहीन दलित तथा अव्यवस्थित रूपमा बसोबास गर्दै आएका परिवारलाई कानुनी प्रक्रिया पूरा गरी लालपुर्जा वितरण गरिने प्रतिबद्धता जनाउनुभयो।

कार्यक्रम लमही नगरपालिकाको संयोजनमा, जिल्ला भूमि समस्या समाधान आयोग, संयुक्त राष्ट्रसंघीय मानव बसोबास कार्यक्रम तथा सामाजिक आत्मनिर्भर सेवा केन्द्रको सहकार्यमा सम्पन्न भएको हो।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस