असार १२, दाङ । दाङ जिल्ला स्तरीय ड्रागन फ्रुट व्यवसायीहरूको पहिलो भेलाले शोभाराम डाँगीको संयोजकत्वमा तदर्थ समिति गठन गरेको छ। घोराही–१८ अकबरेस्थित ‘दंगाली ड्रागन फ्रुट’ का सञ्चालक दुर्गा बहादुर बुढामगरको अध्यक्षतामा सम्पन्न भेलामा १७ जना व्यवसायीहरूको सहभागिता रहेको थियो। भेलाले ड्रागन फ्रुटको व्यवसायिक उत्पादन, बजारीकरण तथा भावी सम्भावनाहरूका बारेमा विस्तृत छलफल गरेको थियो।
भेलामा उपस्थित सहभागी र अनुपस्थित व्यवसायीहरूको बगैचामा यो वर्ष अनुमानित १५० मेट्रिक टन उत्पादन हुने अनुमान गरिएको छ। भेलाले विभिन्न प्रस्तावहरू छलफल गर्दै निर्णयहरू समेत गरेको छ।
ड्रागन फ्रुट खेतीलाई व्यवस्थित, दिगो र नाफामुखी बनाउँदै व्यवसायीहरूको हकहित सुनिश्चित गर्न र उत्पादनको उचित बजार व्यवस्थापन गर्न दाङ जिल्लास्तरीय तदर्थ समिति गठन गर्ने सहमति अनुसार शोभाराम डाँगी संयोजकत्वमा गठन भएकाे समिति सदस्यहरूमा दीपक बस्नेत, दुर्गा बहादुर बुढामगर, श्रीप्रसाद बुढामगर, रेग बहादुर केसी, खेमराज घर्तीमगर र प्रकाश भट्ट त्यसै गरि सल्लाहकारहरूमा हरिप्रसाद घर्तीमगर (नेकपा एस, रोल्पा), शक्तिराम डाँगी (माओवादी नेता, घोराही), भरत बहादुर बुढामगर (माओवादी नेता तथा युवा व्यवसायी, रोल्पा) रहने निर्णय भएकाे छ ।
त्यसैगरी, हाल उत्पादन भई बजारमा आउने असार महिनाको लटका लागि ड्रागन फ्रुटको मूल्य निर्धारणसमेत गरिएको छ। भेलाले रातो ड्रागन फ्रुटको होलसेल मूल्य प्रति केजी रु ३५० र खुद्रा मूल्य रु ४००, सेतो ड्रागन फ्रुटको होलसेल मूल्य रु ३०० र खुद्रा मूल्य रु ३५० कायम गर्ने निर्णय गरेको छ। फलको गुणस्तरलाई विशेष प्राथमिकता दिइने पनि बैठकले स्पष्ट गरेको छ।
समितिले सबै व्यवसायीले उत्पादन गरेको ड्रागन फ्रुट बजारमा विक्री गर्न सहजीकरण गर्ने जिम्मेवारी लिनेछ। सहजीकरणका क्रममा समिति सञ्चालन खर्चका लागि प्रति केजी रु ५ संकलन गरिने निर्णय गरिएको सल्लाहकार भरत बहादुर बुढामगरले युगपोष्टसँग जानकारी दिनुभयो।










