असार १३ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको दाउन्ने सडकखण्डमा वर्षाका समयमा राति सवारी आवागमनमा रोक लगाइएको छ। नवलपरासी प्रहरीले दिएको जानकारीअनुसार हिजो साँझ ७ बजेदेखि बन्द गरिएको सडक आज बिहान ५ बजेदेखि पुनः सञ्चालनमा आएको हो। पानी परेका बेला बिनयी खोलामा बाढी आउँदा गाडी फस्ने जोखिम रहेकाले रातिको समयमा यातायात बन्द गरिएको प्रहरीले जनाएको छ।
सडक डिभिजन कार्यालय भरतपुरले पाँच दिनअघि सार्वजनिक सूचना प्रकाशित गर्दै बेलुकी ७ बजेदेखि बिहान ५ बजेसम्म यस सडकमा सवारी साधन चलाउन निषेध गरेको थियो। सो अवधिमा पानी नपरेका कारण केही दिनसम्म गाडी निर्बाध रुपमा सञ्चालनमा आएका थिए।
बिनयी खोलामा रहेको डाइभर्सनमार्फत अस्ति बुधबारदेखि गाडी चल्न थालेका थिए। तर पुनः वर्षा सुरु भएपछि रातको समयमा फेरि गाडी सञ्चालनमा रोक लगाइएको प्रहरीले जनाएको छ।
छ महिनाअघि बिनयी खोलाको फलामे पुल भाँचिएपछि त्यसको केही उत्तरतर्फ डाइभर्सन बनाएर अस्थायी रुपमा सवारी सञ्चालन हुँदै आएको छ।
राजमार्ग विस्तारको क्रममा बिनयी खोलामा नयाँ पक्की पुल निर्माण भइसकेको छ। सडक विभागका अनुसार दुई हप्ताअघि पुलमा ढलान सकिएको र ढलानपछिको चार हप्तामा गाडी गुडाउन मिल्ने भएकाले आगामी असारको अन्तिमसम्म पुल सञ्चालनमा ल्याइने छ।
पूर्वी नवलपरासीको दुम्कीबासदेखि पश्चिमी नवलपरासीको बर्दघाटसम्मको १४ किलोमिटर लामो दाउन्ने सडकखण्डमा बारम्बार अवरोध हुने गरेको छ। घुम्ती मोड र हिलोले भरिएको सडकका कारण यो खण्ड सबैभन्दा चुनौतीपूर्ण मानिन्छ।












