दाङ, असार १३ । लमही नगरपालिकाका नगरप्रमुख जोगराज चौधरीले स्थानीय विकास योजना कार्यान्वयन गर्दा वनसम्बन्धी ऐन, कानुन र प्रक्रियाले प्राविधिक जटिलता सिर्जना गर्ने भएकाले वन कार्यालयको सक्रिय सहकार्य अत्यावश्यक भएको बताउनु भएकाे छ। लमही नगरपालिका, डिभिजन वन कार्यालय लमही र सरोकारवाला निकायबीच आयोजित अन्तरक्रिया तथा समन्वय बैठकमा बोल्दै नगरप्रमुख चौधरीले यस्तो धारणा राख्न्र भएकाे हाे।

“नगरको समग्र विकासमा वन क्षेत्रसँगको समन्वय अपरिहार्य छ,” उनले भने, “कानुनी प्रक्रिया पालना गर्दा कतिपय अवस्थामा काममा ढिलाइ हुने गर्छ, त्यसैले व्यावहारिक दृष्टिकोण अपनाउँदै वन कार्यालयले सहकार्य गर्नुपर्छ।”

लमही नगरपालिकाकी उपप्रमुख लक्ष्मी योगीले पनि स्थानीय तहको समृद्धिमा वन कार्यालयले बाधक होइन, सहयोगी भूमिका निर्वाह गर्नुपर्ने धारणा राखिन्। उनले नदीजन्य पदार्थको संकलनदेखि सामुदायिक वनमा हुने काठ संकलनजस्ता विषयमा स्थानीय सरकारसँग समन्वय गर्नुपर्नेमा जोड दिनुभयाे ।

“स्थानीय योजना कार्यान्वयनमा वनसम्बन्धी कानुनी जटिलता नआओस् भन्ने हाम्रो चाहना हो,” उपप्रमुख योगीले भनिन्, “स्रोतसाधनको दीगो उपयोगका लागि वन कार्यालयको सकारात्मक भूमिका अत्यावश्यक छ।”

कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाश देवकोटा, वडा नं. १ का अध्यक्ष दामोदर पौडेल, वडा नं. ३ का अध्यक्ष मनोज कुमार चौधरी, वडा नं. ५ का अध्यक्ष ओमप्रसाद सुवेदी, वडा नं. ६ का अध्यक्ष श्याम नारायण चौधरी, सामुदायिक वन महासंघ दाङका अध्यक्ष हरि भुसाल, डिभिजन तथा सब-डिभिजन वन अधिकृतहरू र विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता थियो।

बैठकमा सहभागीहरूले वन संरक्षण र वातावरणीय सन्तुलन कायम गर्दै स्थानीय विकासलाई अघि बढाउने विषयमा आफ्ना सुझावहरू प्रस्तुत गरेका थिए।

डिभिजन वन कार्यालय लमहीका प्रमुख डिभिजन वन अधिकृत महेन्द्रराज वाग्लेले वन कार्यालयको संरचना, कार्य क्षेत्र र कार्यशैलीबारे जानकारी गराउँदै स्थानीय विकास र आर्थिक संकलनमा सहजीकरण गर्न निरन्तर समन्वय गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नु भयाे।

“कानूनले तोकेको अधिकारभित्र रहेर सहज सहकार्य गर्ने हाम्रो उद्देश्य हो,” अधिकृत वाग्लेले बताउनु भयाे ।

बैठकका अन्त्यमा सहभागीहरूले यस्ता समन्वयात्मक बैठकहरूलाई नियमित रूपमा आयोजना गर्नुपर्ने सुझाव दिएका थिए।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस