दाङ, असार १४ । राप्ती इन्जिनियरिङ कलेजको व्यवस्थापनमा स्थापना गरिएको राप्ती मोर्डन एकेडेमीले यस वर्षदेखि प्लस टु विज्ञान र व्यवस्थापन कार्यक्रम सञ्चालनमा ल्याएको छ। शुक्रबार आयोजित पत्रकार सम्मेलनमार्फत एकेडेमीले शैक्षिक सत्र २०८२ देखि प्लस टु तहको साइन्स र म्यानेजमेन्ट कार्यक्रम सुरु गरिएको जानकारी गराएको हो।
वि.सं. २०५३ मा स्थापना भई २०७३ देखि माध्यमिक तहमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको एकेडेमीले “गुणस्तरीय शिक्षा, जिम्मेवार भविष्य” भन्ने मूल मन्त्रका साथ प्रतिस्पर्धी, दक्ष र उत्तरदायी जनशक्ति उत्पादन गर्ने लक्ष्य लिएको जनाएको छ।
कार्यक्रममा बोल्दै एकेडेमीका प्रतिनिधि रेशम गिरीले पठनपाठनमा दक्ष तथा अनुभवी शिक्षकहरूको सहभागीता हुने, स्मार्ट कक्षाकोठा, आधुनिक प्रविधिको प्रयोग, अत्याधुनिक प्रयोगशाला, समृद्ध पुस्तकालय, ई–लाइब्रेरी, हरियाली तथा स्वच्छ वातावरण, खेलकुद र अतिरिक्त क्रियाकलापमा समेत विद्यार्थीको समग्र विकासमा ध्यान दिइने जानकारी दिए।
दीर्घकालीन योजनाअनुसार प्लस टु उत्तीर्ण गरेका विद्यार्थीहरूलाई राप्ती इञ्जिनियरिङ कलेजमा सञ्चालित B.E. Civil, B.E. Computer, BCA र BBA कार्यक्रमहरूमा सहुलियत दरमा भर्ना गरिने व्यवस्था गरिएको छ।
एसइईमा उत्कृष्ट ग्रेड ल्याउने, जेहेन्दार तथा आर्थिक रूपमा कमजोर विद्यार्थीका लागि विशेष छात्रवृत्तिको व्यवस्था गरिएको समेत एकेडेमीले जानकारी गराएको छ।
शुक्रबार भएकाे पत्रकार सम्मेलन एकेडेमीका प्रवन्ध निर्देशक डा. भीमसेन गिरीको अध्यक्षतामा सम्पन्न भएको थियो।












