
दाङ, असार १४ । माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को नतिजा सार्वजनिक भएकाे छ, जसअनुसार ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले शुक्रबार सार्वजनिक गरेको नतिजा अनुसार यो वर्ष ग्रेडेड (ग्रेड प्राप्त गर्ने) विद्यार्थीको प्रतिशत गत वर्षको तुलनामा उल्लेख्य रूपमा बढेको छ।
गएको वर्ष ४८ प्रतिशत मात्र विद्यार्थी ग्रेडेड भएका थिए भने यसवर्ष सो संख्या ६१.८१ प्रतिशत पुगेको हो। बोर्डका अनुसार नियमिततर्फ जीपीए ३.६० देखि ४.० ल्याउने विद्यार्थीको संख्या ४८ हजार १७७ रहेको छ। त्यस्तै, १.६० देखि २.० जीपीए ल्याउने ८ जना, २.० देखि २.४० ल्याउने ४ हजार १२६ जना, २.४० देखि २.८० ल्याउने ४८ हजार ४७९ जना, २.८० देखि ३.२० ल्याउने ८९ हजार १२४ जना, ३.२० देखि ३.६० ल्याउने ८१ हजार ३८५ जना छन्। यसबाहेक, १ लाख ६७ हजार ५९७ जना विद्यार्थी नन–ग्रेडेड (ग्रेड प्राप्त नगर्ने) रहेका छन्।
यस वर्षको एसईईमा कुल ४ लाख ३८ हजार ८९६ परीक्षार्थी सहभागी भएका थिए।











