दाङ, असार १४ । लुम्बिनी प्रदेशले चालु आर्थिक वर्ष २०८१/८२ मा आन्तरिक राजस्व संकलनमा अपेक्षित प्रगति गर्न सकेको छैन। प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार आर्थिक वर्षको ११ महिनासम्ममा जम्मा ३६.८५ प्रतिशत मात्र राजस्व संकलन भएको छ।
जेठ मसान्तसम्म प्रदेशले एक अर्ब ७३ करोड ६६ लाख रुपैयाँभन्दा बढी आन्तरिक राजस्व संकलन गरेको भए पनि सो रकममा बेरुजु, निकासा र अनुदान फिर्ता समेत समावेश भएकाले वास्तविक आम्दानीको सूचक ठहरिँदैन। वार्षिक लक्ष्य भने चार अर्ब ७१ करोड २० लाख रुपैयाँ रहेको छ।
लक्ष्यअनुसार आम्दानी हुन नसक्दा आन्तरिक स्रोतमा आधारित योजनाहरू प्रभावित हुने देखिन्छ। वन क्षेत्र, व्यवसाय दर्ता र सेवा बिक्रीबाट उच्च आम्दानी गर्ने लक्ष्य लिइएको भए पनि त्यो प्राप्त हुन सकेको छैन। कृषि कर, सम्पत्ति बहाल, रोयल्टी, सरकारी सम्पत्ति बिक्री, परीक्षा शुल्क, यातायात, प्रशासनिक सेवा दस्तुर लगायतका शीर्षकबाट आंशिक मात्र राजस्व उठेको छ।
केही शीर्षकमा त १० प्रतिशतभन्दा पनि कम संकलन भएको छ। धरौटी र अन्य राजस्व शिर्षकमा भने केही सुधार देखिए पनि कुल प्रगति लक्ष्यको तुलनामा निकै कम भएको छ। बाँकी आधा महिनामा लक्ष्य पुरा गर्न सम्भव देखिँदैन भन्ने अर्थविद्को विश्लेषण छ।












