दाङ , असार १४ । दाङ जिल्लालाई ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला’ का रूपमा शनिबार औपचारिक रूपमा घोषणा गरिएको छ। “स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता : पूर्णखोप सुनिश्चितता जिल्ला हाम्रो प्रतिबद्धता” भन्ने नाराका साथ आयोजित विशेष सभामार्फत दाङलाई पूर्ण खोपयुक्त जिल्ला घोषणा गरिएको हो।

घोषणा सभालाई सम्बोधन गर्दै लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर सारु मगरले दाङले खोप सुनिश्चितताको क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरेको भन्दै प्रशंसा गर्नु भयाे। उहाँले सबै नागरिक स्वस्थ भए मात्र समृद्ध राष्ट्र निर्माण सम्भव हुने धारणा राख्दै प्रदेश सरकारले सबै नागरिकसम्म स्वास्थ्य सेवा पु¥याउने उद्देश्यसहित विविध कार्यक्रमहरू अघि बढाएको जानकारी गराउनु भयाे ।

मन्त्री मगरका अनुसार यो अभियानमार्फत खोप मात्र होइन, दिगोपनासमेत सुनिश्चित गरिएको छ। साथै, क्यान्सर रोगका बिरामीहरूका लागि दुई लाख रुपैयाँसम्मको निःशुल्क उपचार सुविधा प्रदान गरिएको पनि जानकारी दिनु भयाे । उपचार खर्च न्यूनीकरण गर्न नागरिकहरू रोग लाग्नुभन्दा पहिले नै स्वास्थ्य सचेत हुनुपर्नेमा उनले जोड दिनु भयाे ।

स्वास्थ्य मन्त्री मगरले अभियान सफल बनाउन समर्पित सबै जनप्रतिनिधि, स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयंसेविकालाई बधाई र आभार व्यक्त गर्नु भयाे ।

कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय दाङका प्रमुख किशोरकुमार आचार्यले सबैको सहकार्य र योगदानका कारण दाङ पूर्ण खोपयुक्त जिल्लाको हैसियतमा उभिन सफल भएको बताउनु भयाे ।

खोप समन्वय समिति दाङका संयोजक तथा जिल्ला समन्वय समितिका प्रमुख नित्यानन्द शर्माको अध्यक्षतामा सम्पन्न सो सभामा लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेम सारु मगर प्रमुख अतिथिका रूपमा सहभागी थिए। कार्यक्रममा लमही नगरपालिकाका नगरप्रमुख जोगराज चौधरी, घोराही उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख राधा पौडेल, नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदी, महिला स्वास्थ्य स्वयंसेविका बिना खनाल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भयाे।

घोषणा सभामा दाङका सबै दशवटा स्थानीय तहका जनप्रतिनिधि, स्वास्थ्यकर्मी तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस