दाङ, असार १५ । एजुकेशन समाचारले प्रकाशित गरेको देशभरिका उत्कृष्ट माध्यमिक विद्यालयहरूको २०८२ सालको सूचीमा तुलसीपुरस्थित ज्ञान ज्योति माध्यमिक विद्यालयले सातौँ स्थान हासिल गरेको छ।

यस वर्ष कुल ४७४१ विद्यालयमध्ये ज्ञान ज्योतिले सातौँ स्थानमा स्थान पाएको हो। स्थान निर्धारणमा विद्यालयको भौतिक पूर्वाधार, अतिरिक्त क्रियाकलाप, शैक्षिक उपलब्धि, स्थापना वर्ष, नतिजा र सर्वसाधारणको धारणा (पिपुल्स पर्सेप्सन) जस्ता मापदण्डलाई समेटेर मुल्यांकन गरिएको थियो।

गत वर्ष पनि ज्ञान ज्योति सातौँ उत्कृष्ट विद्यालयको सूचिमा परेको थियो। छनौट प्रक्रियामा अघिल्ला दुई वर्षदेखि निरन्तर ४८० जना परीक्षार्थी सहभागी गराउनु, बोर्डबाट प्राप्त “उत्कृष्ट मावि” पुरस्कार, कक्षा ११–१२ पढाउने अनुमतिको इतिहास र अन्य मापदण्डलाई पनि आधार बनाइएको थियो।

मुल्यांकन प्रणालीअनुसार नतिजालाई ८० प्रतिशत र बाँकी मापदण्डलाई २० प्रतिशत अंक दिई, कूल अंकको आधारमा उत्कृष्ट विद्यालयको सूची तयार पारिएको थियो।

विद्यालयका सीईओ सुरेन्द्र जिसीले सफलता हासिल गर्न मुख्यतया कुशल नेतृत्व, सबल व्यवस्थापन, दक्ष र अनुभवी शिक्षक–शिक्षिकाहरू, अनुशासित र क्षमतावान विद्यार्थीहरूको अथक मिहिनेत तथा गुणस्तरीय, आत्मनिर्भर र स्वरोजगारमुखी शिक्षण शैली महत्वपूर्ण भूमिका खेलेको बताए।

उनी थप्छन्, “विद्यार्थीको क्षमता, अभिरुचि र समयसापेक्ष पठन–पाठनले तिनीहरूको अन्तरनिहित प्रतिभा बिकास गराउन मद्दत पुर्‍याउँछ, र यही गुण ज्ञान ज्योतिको टोलीसँग विद्यमान छ।”

विद्यालयले स्थापना संरक्षणको दोस्रो वर्ष २०६७ सालमै शिक्षा मन्त्रालयबाट उत्कृष्ट माविको उपाधिसहित सम्मान पाइसकेको छ। त्यसयता २०७५ सालसम्म दैनिक रूपमा उत्कृष्ट विद्यालयको अवार्ड प्राप्त गर्दै आएको यस संस्थाले २०७९ सालमा देशकै शीर्ष १५ मा र यसपटक शीर्ष ७ माविमा पर्ने कीर्तिमान स्थापित गरिसकेको छ।

हाल विद्यालयले कक्षा ११ र १२ मा विज्ञान, व्यवस्थापन, मानविकी, कानून तथा शिक्षा संकायमा पठनपाठन गर्दै आएको छ। साथै स्नातक तहमा बीबीएस, बीबीए, बीएससी, सिएस, आईटी, एलएलबी र स्नातकोत्तर तहमा एमबीएको कार्यक्रम सञ्चालन भईरहेको छ, जसले उच्च शिक्षा अध्ययनका लागि विद्यार्थीहरूलाई जिल्लाबाहिर जानु नपर्ने सुनिश्चितता प्रदान गरेको छ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस