
काठमाडौं, असार १५ । हरेक वर्ष झैं आज देशभर धान दिवस तथा दही चिउरा खाने पर्व हर्षोल्लासका साथ मनाइँदैछ। नेपालमा २०६२ सालदेखि असार १५ लाई राष्ट्रिय धान दिवसका रूपमा औपचारिक रूपमा मनाउन थालिएको हो।
कृषिप्रधान मुलुक नेपालमा असार महिना धान खेतीका लागि सबैभन्दा महत्वपूर्ण समय हो। किसानहरू वर्षभरको अन्न संकलनका लागि यति बेला खेतमै व्यस्त हुन्छन्। आजको दिन, परम्पराअनुसार, असारे भाका गाउँदै छुपु–छुपु हिलोमा धान रोप्ने चलन छ। “छुपु र छुपु हिलोमा धान रोपेर छोडौँला…” जस्ता लोकगीतहरू गाउँदै खेतमा रमाइलो गर्दै धान रोप्ने दृश्यहरू देशभर देखिन्छन्।
असारमा हिलो छाम्नैपर्ने भन्ने सामाजिक मान्यता रहेको नेपाली समाजमा असार १५ लाई माटोसँगको आत्मीय सम्बन्ध झल्काउने दिनको रूपमा पनि लिइन्छ।
तर, यो वर्ष असारको मध्यसम्म पनि देशका सबै क्षेत्रमा पर्याप्त वर्षा नहुँदा धान रोपाइँ प्रभावित भएको छ। साथै, विभिन्न जिल्लाका किसानहरूले रासायनिक मलको अभावको गुनासो गरेका छन्। यद्यपि, कृषि तथा पशुपन्छी विकास मन्त्रालयले भने मल पर्याप्त मात्रामा उपलब्ध रहेको दाबी गरेको छ।
असारको खेतिपातीले थकित भएका किसानहरू आजको दिन शक्ति सञ्चय गर्न दही चिउरा खान्छन्। दही र चिउराले शरीरमा ऊर्जा र ताजगी दिन्छ भन्ने विश्वास रहेको छ। यही कारण, असार १५ लाई दही चिउरा खाने पर्वका रूपमा पनि मनाइन्छ।
खेतीसँग सम्बन्ध नराख्ने नागरिकहरूले पनि आज दही चिउरा खाएर पर्व मनाउने चलन रहेको छ। नेपाली परम्परामा दही शुभता, शुद्धता र सगुनको प्रतीक हो। शुभकार्यको सुरुवातमा दही र अक्षता लगाएर टीका लगाउने चलन छ, र यात्रामा निस्कँदा दही खाएर हिँड्नाले साइत मिल्ने जनविश्वास पनि रहेको छ।
इतिहास, संस्कृति र स्वास्थ्यसँग जोडिएको दही चिउरा नेपाली समाजमा गौरवपूर्ण स्थान राख्ने परिकार हो। आयुर्वेद अनुसार दहीले पाचनशक्ति बढाउँछ, मोहीले तिर्खा मेटाउँछ, र दही चिउरा औषधिको कामसमेत गर्ने उल्लेख छ। पखालाको अवस्थामा पनि दही चिउरा सेवन गर्न सिफारिस गरिन्छ।
ऐतिहासिक प्रसङ्गअनुसार, गुरु गोरखनाथले पृथ्वीनारायण शाहलाई दही खुवाएर वीरता हासिल गर्ने भविष्यवाणी गरेको भन्ने जनश्रुति समेत छ। यी सबै कारणले गर्दा असार १५ को दही चिउरा पर्वले सांस्कृतिक र वैज्ञानिक महत्व बोकेको छ।

