दाङ, असार १७ । राप्ती राजमार्ग अन्तर्गत दाङ–सल्यान खण्डमा गएको ठूलो पहिरोका कारण सवारी आवागमन अवरुद्ध भएको छ। सल्यानको कपुरकोट गाउँपालिका–३, दाङ–सल्यान सीमासँगैको क्षेत्रमा सोमबार साँझ खसेको पहिरोले सडक पूर्ण रूपमा बन्द भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक बाबुराम बस्नेतले जानकारी दिनुभयो।
साँझ ६ बजेदेखि सडक अवरुद्ध हुँदा दुवैतर्फका सवारी साधन बीचबाटोमै रोकिएका छन्। निरन्तर पहिरो खसिरहेकाले राति नै मार्ग खुलाउन नसकिएको र हाल डोजर प्रयोग गरी अवरोध हटाउने प्रयास जारी रहेको प्रहरीले जनाएको छ।
ठूलो परिमाणमा माटो र ढुंगा खसेको हुनाले सडक खुलाउन केही समय लाग्न सक्ने प्रहरी निरीक्षक बस्नेतले बताउनुभयो। जबसम्म मार्ग सुचारु हुँदैन, यात्रुहरू र चालकहरूलाई आवागमन नगर्न आग्रह गरिएको छ।
प्रहरीले अत्यावश्यक नपरी यात्रा नगर्न र सडक पूर्णरूपमा खुलाएपछि मात्र गन्तव्यतर्फ जान अनुरोध गरेको छ।












