मसुरिया, असार १७ दाङको राप्ती गाउँपालिकामा किशोरीहरूलाई लक्षित गर्दै सञ्चालित डेढ महिनाको आत्मरक्षा तालिम आइतबार सम्पन्न भएको छ। लुम्बिनी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयअन्तर्गत सामाजिक विकास डिभिजन कार्यालय तुलसीपुरको आयोजनामा तथा राप्ती गाउँपालिकाको समन्वयमा तालिम सञ्चालन गरिएको हो।

तालिम तीनवटा विद्यालयमा सञ्चालन गरिएको थियो – वडा नं. २ को आदर्श नमुना माध्यमिक विद्यालय लालमटिया, वडा नं. ४ को माध्यमिक विद्यालय मौरीघाट र वडा नं. ८ को शंकर माध्यमिक विद्यालय पिपरी। हरेक विद्यालयबाट ३० जना गरी कूल ९० जना किशोरीहरूको सहभागिता रहेको थियो।

यस तालिममार्फत किशोरीहरूलाई आत्मरक्षा सम्बन्धी व्यवहारिक सीप, आत्मबल वृद्धि, जोखिमको पहिचान र प्रतिकारका उपायहरूको जानकारी दिइएको हो।

राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले आत्मरक्षा तालिमको महत्व औँल्याउँदै यस्तो ज्ञान र सीप आजको समयमा किशोरीहरूका लागि अत्यन्तै आवश्यक रहेको बताए। “यस्ता तालिमहरूले किशोरीहरूलाई सुरक्षित मात्रै बनाउँदैन, आत्मनिर्भर र निर्णय क्षमतासम्पन्न जिम्मेवार नागरिकका रूपमा पनि तयार पार्छ,” अध्यक्ष विष्टले बताए।

तालिममा प्रशिक्षक यमलाल वाग्ले, विष्णा रेश्मी मगर र पवित्रा चौधरीले सहभागी किशोरीहरूलाई आत्मरक्षा सम्बन्धी शारीरिक अभ्यास, आत्मबल र आत्मविश्वास अभिवृद्धि गर्ने अभ्यासका साथै सजगता विकास गर्ने विविध ज्ञान प्रदान गरेका थिए।

सहभागी किशोरीहरूका अनुसार यो तालिमले उनीहरूलाई दैनिक जीवनमा काम लाग्ने व्यवहारिक सीपहरू सिक्न मद्दत पुगेको छ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस