दाङ, असार १८ । लुम्बिनी प्रदेश सरकारको गौरवपूर्ण आयोजनाका रूपमा स्थापना गरिएको लुम्बिनी प्राविधिक विश्वविद्यालयलाई समयसापेक्ष र प्रभावकारी बनाउँदै लैजानुपर्नेमा जोड दिइएको छ। नेपालगञ्जमा आज आयोजित विश्वविद्यालयको तेस्रो वार्षिकोत्सव समारोहमा सहभागीहरूले विश्वविद्यालयलाई सबै सरोकारवाला निकाय तथा नागरिक समाजको सहकार्यमा थप सशक्त, समकालीन र गुणस्तरीय बनाउँदै लैजानुपर्ने आवश्यकता औँल्याएका थिए।

समारोहको उद्घाटन गर्दै लुम्बिनी प्रदेशका सामाजिक विकासमन्त्री एवं विश्वविद्यालयका सह-कुलपति जन्मजय तिमिल्सेनाले विश्वविद्यालयको प्रभावकारिता बढाउन सबै पक्ष जिम्मेवार भई सक्रिय भूमिका निर्वाह गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो। उहाँले आवश्यकताअनुसार विश्वविद्यालयमा समयसापेक्ष सुधार गर्दै लैजानुपर्नेमा पनि जोड दिनुभयो।

मन्त्री तिमिल्सेनाले ३३ जना विद्यार्थीबाट सुरु भएको विश्वविद्यालय हाल २०० जना हाराहारीमा पुगेको जानकारी गराउँदै यसको विकासक्रमले गति लिएको उल्लेख गर्नुभयो। उहाँले यस संस्थाको व्यवस्थापकीय पक्षलाई अझ सुदृढ बनाउन आवश्यक रहेको पनि बताउनुभयो।

कार्यक्रममा विश्वविद्यालयका कुलसचिव (रजिष्ट्रार) रेगबहादुर भण्डारीले विभिन्न शैक्षिक कार्यक्रमबारे जानकारी दिनुहुँदै विश्वविद्यालयले विद्यार्थीहरूलाई आधुनिक तथा स्मार्ट प्रविधिमा दक्षता प्रदान गरिरहेको बताउनुभयो। उहाँले व्यवहारिक शिक्षा, अनुसन्धान, उद्यमशीलता र विकासमूलक विषयहरूलाई पाठ्यक्रममा समावेश गरिएकाले रोजगारी सिर्जनामा योगदान पुर्‍याइरहेको उल्लेख गर्नुभयो।

त्यसैगरी, डीन डा. निरज केसीले स्नातक तथा स्नातकोत्तर तहमा नयाँ शैक्षिक कार्यक्रम सञ्चालनको तयारी भइरहेको जानकारी दिनुभयो। उहाँले सिभिल इञ्जिनियरिङमा समेत नयाँ कार्यक्रम ल्याउने तयारी भइरहेको उल्लेख गर्नुभयो।

कार्यक्रमको अध्यक्षता विश्वविद्यालयका उपकुलपति डा. विनोद ढकालले गर्नुभएको थियो। कार्यक्रममा प्रदेशसभा सदस्यद्वय रत्न खत्री र सिके गुप्ताले विश्वविद्यालयलाई नमूना शैक्षिक संस्थाका रूपमा विकास गर्न साझा प्रयास र समन्वय अपरिहार्य रहेको धारणा व्यक्त गर्नुभयो।

सूचनाप्रविधि, इञ्जिनियरिङ, कृषि, वन तथा पर्यटनजस्ता व्यवहारिक शिक्षामा केन्द्रित लुम्बिनी प्राविधिक विश्वविद्यालय २०७९ साल असार १८ गते नेपालगञ्जमा स्थापना गरिएको हो।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस