दाङ, असार १९ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, रोल्पाले जिल्लाका चार जना उत्कृष्ट पशुपालक कृषकलाई नगद पुरस्कारसहित सम्मान गरेको छ। बिहीबार लिबाङमा आयोजित कार्यक्रममा उनीहरूलाई सम्मान गरिएको हो।

सम्मानित हुने कृषकहरूमा गंगादेव गाउँपालिका–३ जिनाबाङका बाख्रापालक लोकमान वली, त्रिवेणी गाउँपालिका–२ नुवागाउँका बंगुरपालक मणिराम घर्तीमगर, सुनिल स्मृति गाउँपालिका–३ मिझिङकी भैंसीपालक लतादेवी विष्ट र रोल्पा नगरपालिका–६ कोटगाउँकी गाईपालक अनकुमारी घर्तीमगर रहेका छन्।

उक्त सम्मानमा वलीलाई “सर्वोत्कृष्ट कृषक” को रूपमा चयन गरिएको हो भने अन्य तीन जनालाई “उत्कृष्ट कृषक” श्रेणीमा सम्मानित गरिएको हो।

कार्यक्रममा केन्द्रका प्रमुख डा. शंकर न्यौपानेले कृषकहरूलाई सम्मानका माध्यमबाट प्रोत्साहित गर्ने उद्देश्यले यस्तो पहल गरिएको जानकारी दिनुभयो। उहाँले सम्मान स्वरूप प्रदान गरिएको रकम सानो भए पनि यसको प्रभाव भने प्रेरणादायी हुने विश्वास व्यक्त गर्नुभयो।

सर्वोत्कृष्ट घोषित लोकमान वलीले माउ र पाठापाठी गरी करिब ३५० बाख्रा पालिरहेका छन्। उहाँ जिल्लामै सबैभन्दा बढी बाख्रापालन गर्ने एक्ला व्यवसायिक कृषक हुनुहुन्छ।

त्यसैगरी मणिराम घर्तीमगरले करिब ५० माउ बंगुरसहित जिल्लाकै ठूलो बंगुर फार्म सञ्चालन गरिरहनुभएको छ। लतादेवी विष्टले दुर्गम भेग मिझिङमा व्यावसायिक भैंसीपालन गर्दै आउनुभएको छ भने अनकुमारी घर्तीमगर गाईपालन व्यवसायमा सक्रिय हुनुहुन्छ।

डा. न्यौपानेका अनुसार जिल्लाभरका पशुपालकहरूमध्येबाट उत्कृष्ट कार्य गर्दै आएका कृषकहरूलाई छनोट गरी सम्मान गरिएको हो।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस