दाङ, असार २० । लमही नगरपालिकाले जेष्ठ नागरिकको हक, अधिकार, सम्मान र संरक्षणसम्बन्धी आचारसंहिताको पुस्तक सार्वजनिक गरेको छ। जेष्ठ नागरिकमैत्री समाज निर्माण गर्ने लक्ष्यसहित प्रकाशित पुस्तकमा स्थानीय सरकारबाट प्राप्त हुने सेवा–सुविधा, सामाजिक सुरक्षा, स्वास्थ्य सेवा, र व्यवहारसम्बन्धी मार्गदर्शन समावेश गरिएको छ।
“तिमी जवान हुँदा वृद्धको सम्मान गर्न सिक, किनभने तिमी पनि एक दिन वृद्ध हुनेछौ” भन्ने सन्देशसहित तयार पारिएको पुस्तक विमोचन कार्यक्रममा विभिन्न सरोकारवाला, जनप्रतिनिधि, नागरिक समाजका अगुवा, तथा जेष्ठ नागरिकहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्दै लमही नगरपालिकाकी उपप्रमुख लक्ष्मी योगीले जेष्ठ नागरिकहरू अनुभवको खानी भएको उल्लेख गर्दै भनिन्, “उनीहरूले आफ्नो जीवन समाज र राष्ट्रको सेवामा समर्पित गरेका छन्, त्यसैले उनीहरूको सम्मान गर्नु हाम्रो सामाजिक कर्तव्य हो।”
वडा नं. ३ का अध्यक्ष मनोज चौधरीले आचारसंहिताहरू बने पनि कार्यान्वयनमा कमी भएकोप्रति चिन्ता व्यक्त गर्दै, “कानुन र नीति बनाउनु मात्र पर्याप्त होइन, त्यसको प्रभावकारी कार्यान्वयन जरुरी छ,” भन्नुभयाे।
वडा नं. ५ का अध्यक्ष ओमप्रसाद सुवेदीले जेष्ठ नागरिक भत्तासम्बन्धी सेवा वितरणमा देखिएको समस्या उल्लेख गर्दै, “बैंकमा घण्टौं लाइन बस्नुपर्ने र फुटकर रकमले झन्झट हुने गरेको गुनासो नियमित रूपमा आइरहेको छ,” जानकारी दिनुभयाे ।
कार्यक्रममा ट्राफिक प्रहरी लमहीका प्रमुख माधव रावतले जेष्ठ नागरिकप्रति सम्मानजनक व्यवहार सुनिश्चित गर्न प्रहरी प्रतिबद्ध रहेको बताउनु भयाे भने बैंकर्स एसोसिएसन लमहीका अध्यक्ष आशकुमार जरेजुले, “बैंकहरूले वृद्धमैत्री सेवा प्रणालीलाई प्राथमिकतामा राखेका छन्,” भन्दै सबै वित्तीय संस्थाले सामाजिक जिम्मेवारी वहन गर्नुपर्ने बताउनु भयाे।
विमोचित पुस्तक जेष्ठ नागरिक सञ्जाल लमही का दिवंगत अध्यक्ष स्व. जागेश्वर शर्मा घिमिरे, सचिव दामोदर पाण्डे र शाखा प्रमुख मेनका खड्कासहितको टोलीले तयार पारेको हो। कार्यक्रममा खड्काले सहजीकरण गर्नु भएकाे थियाे ।
नगरपालिकाले पुस्तकलाई सबै वडामा कार्यान्वयन गरिने जानकारी दिएको छ। सहभागीहरूले जेष्ठ नागरिकमाथि हुने विभेद, हिंसा र उपेक्षा अन्त्य गर्न सामाजिक चेतनाको खाँचो औंल्याएका थिए।

