काठमाडौँ , असार २२ । विस्फोट र इँटाभट्टामा जिउँदै मान्छे जलाएको घटनामा प्रमाण नभेटिएको भन्दै पूर्वमन्त्री एवं कांग्रेस नेता अफ्ताब आलमलाई उच्च अदालत वीरगन्जले सफाइ दिएपछि ४३ वर्षीय गौरीशंकर राम चमार काठमाडौँ आइपुगेका छन्।
२७ चैत ०६४ मा रौतहटको राजपुर फरहदवामा भएको घटनाको फेहरिस्त सुनाउन र दोषीलाई कारबाही हुनुपर्ने माग गर्दै उनी भारतको बिहार सीतामढीबाट नेपालको राजधानी काठमाडौँ आएका हुन्।
गत २०६४ चैत २७ गते संविधानसभाको निर्वाचनको माहोल थियो। रौतहटको राजपुर फरहदवामा रहेको राजा इँटाभट्टामा भारतको बिहार सीतामढीका ४३ वर्षीय गौरीशंकर राम चमार काम गर्थे। नेपाली कांग्रेसका नेता मोहम्मद अफ्ताब आलमको उक्त इँटाभट्टामा काम गर्ने उनी त्यो दिन पैसा लिन आलमको घर गएका थिए।
उनले बताएअनुसार आलमको घरमा बम बनाउने काम भइरहेको थियो। त्यो क्रममा बम पड्किएपछि उनी घाइते भए। बमले दुवै कान उडाइदियो, अनुहार, घाँटी र छातीमा ठूलो चोट लाग्यो।

