काठमाडौं, असार २३। विभिन्न देशमा वैदेशिक रोजगारीका लागि पठाइदिने भन्दै एक करोड ८२ लाख रुपैयाँभन्दा बढी ठगी गरेका दुई जना काठमाडौंबाट पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा रामेछापको उमाकुण्ड गाउँपालिका–६ घर भई हाल काठमाडौं महानगरपालिका–६ बस्ने ३२ वर्षीय फिन्चु लामा र सङ्खुवासभाको खाँदबारी नगरपालिका–३ घर भई कागेश्वरी मनोहरा नगरपालिका–८ बस्ने २९ वर्षीय उत्तम खड्का रहेका छन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार फिन्चुले लिथुआनिया, रोमानिया लगायतका युरोपेली मुलुक पठाइदिने भन्दै ४५ जनाबाट एक करोड ८० लाख ९३ हजार रुपैयाँ लिएका थिए। उत्तम खड्काले सर्बिया पठाइदिने भन्दै एक जनाबाट दुई लाख रुपैयाँ लिएको खुलेको छ।
प्रहरीका अनुसार फिन्चुले काठमाडौंको नयाँ बानेश्वरमा कन्सल्टेन्सी नै सञ्चालन गरेर ठगी गर्दै आएका थिए। ठगीपछि उनीहरू सम्पर्कविहीन बनेका थिए।
उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरी उपरीक्षक तथा कार्यालयका सूचना अधिकारी काजीकुमार आचार्यले जानकारी दिएका छन्।












