भरत वली
घाेराही, असार २४ । घोराही उपमहानगरपालिका–३, वनखेतमा निर्माण सम्पन्न गरिएको मितेरी टोल विकास संस्थाको नवनिर्मित भवन एक औपचारिक कार्यक्रमका बीच उद्घाटन गरिएको छ। असार २४ गते आयोजित उक्त कार्यक्रममा प्रमुख अतिथिको रूपमा घोराही उपमहानगरपालिकाका उप–प्रमुख हुमाकुमारी डि.सी.ले भवनको समुद्घाटन गर्नुभयो। त्यस्तै कार्यक्रमको अध्यक्षता बाढी बोहरा रहनुभएको थियो । कार्यक्रममा टोल विकास संस्थाका पदाधिकारीहरू, पत्रकार, भवन निर्माण समितिका सदस्यहरू, सल्लाहकारहरू, स्थानीयवासी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति थियो । भवन निर्माणको सफलताका लागि स्थानीयको श्रमदान र आर्थिक सहयोगमा निर्माण सम्पन्न भएको हो । भवन निर्माणका लागि विभिन्न व्यक्तिबाट नगद तथा भौतिक सहयोग प्राप्त भएको छ । सबैभन्दा ठूलो आर्थिक सहयोग इन्लासे नेपाल संस्था, ललितपुरले ६ लाख ४ हजार २ सय २१ रुपैयाँ प्रदान गरेको बताइएको छ । सो सहयोग बलिदान चर्च गोग्ली, दाङमार्फत समन्वय गरिएको थियो। त्यसैगरी, टोल विकास संस्थाले आयोजना गरेको भैलो कार्यक्रमबाट जग्गा खरिदका लागि १ लाख ५० हजार रुपैयाँ संकलन गरिएको थियो। साथै, धनकला पुन मगर, टेकबहादुर घर्ती मगर, लालबहादुर घर्ती, मल्लिता पुन मगर, तेजबहादुर घर्ती मगर, विष्णु घर्ती मगर, ऋषिराम रावत, प्रमोद घर्ती मगरलगायत २० भन्दा बढी व्यक्तिहरूले नगद सहयोग गरेका थिए। स्रोतहरूको समग्र विवरण हेर्दा श्रमदानको मूल्याङ्कनसहित भवन निर्माणमा कूल १४ लाख ८४ हजार १ सय २८ रुपैयाँ बराबरको योगदान भएको बताइएको छ । संस्थाको वर्तमान नेतृत्व मल्लिता पुन मगरको अध्यक्षतामा रहेको छ । सचिवमा देवकी घर्ती मगर र कोषाध्यक्षमा भीमबहादुर दमाई रहनु भएको छ । कार्यक्रमका प्रमुख अतिथि घोराही उपमहानगरपालिकाकी उप–प्रमुख हुमाकुमारी डि.सी. ले मितेरी टोल विकास संस्थाले देखाएको सक्रियता, पारदर्शिता र स्थानीय सहभागिताको प्रशंसा गर्दै । उहाँले भन्नुभयो, “स्थानीय तहको समृद्धि त्यतिखेर सम्भव हुन्छ, जब टोल तहमै नागरिकको स्वेच्छिक श्रम, सहयोग र सहभागिता सुनिश्चित हुन्छ । मितेरी टोल विकास संस्थाले भवन निर्माणमार्फत स्थानीय स्रोत र श्रमको उपयोग गर्दै सामुदायिक विकासको सशक्त उदाहरण प्रस्तुत गरेको छ। “यस भवनले आगामी दिनमा सामाजिक गतिविधि, छलफल, तालिम, जनचेतनामूलक कार्यक्रम र सामुदायिक एकता बढाउन महत्वपूर्ण भूमिका खेल्नेछ। साथै उहाँले आगामी दिनहरुमा स्थानिय सरकारको तर्फबाट थप सहयोगहरु भवनको लागि पहल गर्ने समेत बताउनु भयो । श्रमदान मात्रै ६ लाख २३ हजार ५ सय ७२ रुपैयाँ बराबर रहेको छ । समारोहका वक्ताहरूले सामूहिक प्रयास, पारदर्शिता र सामाजिक एकताको उदाहरण प्रस्तुत गरेको भन्दै टोल विकास संस्थाको प्रशंसा गरेका थिय । भवन निर्माणले संस्थालाई थप सक्रिय र प्रभावकारी बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरिएको छ।












