दाङ, असार २९ । देउखुरीको राप्ती नदीमा झोलुङ्गे पुल निर्माण कार्य सुरु भएको छ। लमही नगरपालिका–९ अमिलिया र राजपुर गाउँपालिका–७ हाडबासलाई जोड्ने गरी पुल निर्माण थालिएको हो।
लुम्बिनी प्रदेश सरकारको एक करोड ९१ लाख ११ हजार तीन सय ४७ रुपैयाँ ६१ पैसाको लागतमा निर्माण हुँदै गरेको यो पुलको लम्बाइ २८६ मिटर हुनेछ। सडक पूर्वाधार विकास कार्यालय दाङका सूचना अधिकारी लीलाधर गिरीका अनुसार निर्माण कार्य शैलेन्द्र निर्माण सेवा नुवाकोटले लिएको हो। एक वर्षभित्र पुल निर्माण सम्पन्न गर्ने लक्ष्यसहित कार्य अगाडि बढाइएको छ।
गत २०८१ माघ २२ गते ठेक्का सम्झौता गरिएको यो पुल २०८२ माघ मसान्तसम्म सम्पन्न गरिनेछ। हाल पुलको फाउन्डेसनको काम सम्पन्न भइसकेको सूचना अधिकारी गिरीले जानकारी दिए। उनका अनुसार सिभिल कार्य अन्तर्गत प्रारम्भिक चरणको काम पूरा भइसकेको छ भने अब पोल गाड्ने, तार तानेर जडान गर्नेजस्ता बाँकी कामहरू अघि बढाइनेछ।
स्थानीयवासीका अनुसार पुल नहुँदा हाडबास क्षेत्रका झन्डै ३० घरधुरीलाई वर्षायाममा डुङ्गाको सहारामा जोखिमपूर्ण यात्रा गर्नुपरेको थियो। अमिलिया निवासी श्रीराम दहित भन्छन्, “पुल बनेपछि हाडबास र गोठुवा गाउँका बासिन्दालाई दैनन्दिन कार्य, किनमेल, र बालबालिकालाई विद्यालय आउजाउ गर्न सहज हुनेछ।”
पुल नहुँदा हाडबासका बासिन्दालाई करिब डेढ घण्टा पैदल हिँडेर लमही–९ स्थित हात्तीसाल हुँदै गोठुवा जोड्ने अर्को झोलुङ्गे पुलसम्म पुग्नुपर्ने बाध्यता थियो। पानी कम भएको समयमा भने नदी पार गर्न डुङ्गा प्रयोग हुने गरेको थियो।












