दाङ , असार ३० । लुम्बिनी प्रदेशमा अल्पसंख्यक, सीमान्कृत र लोपोन्मुख समुदायहरूको हितका लागि प्रदेशस्तरीय सहयोगी समूहको गठन गरिएको छ। शनिबारदेखि सुरु भएको दुईदिने प्रदेश नीति सञ्जालको कार्यशाला गोष्ठीमा विभिन्न समितिका सदस्यहरू तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको सहभागितामा उक्त समूह निर्माण गरिएको हो।

यस सहयोगी समूहले राज्यको मूल प्रवाहमा पुग्न कठिनाइ भोगिरहेका समुदायहरूको पहुँच सुनिश्चित गर्न सहयोग पुर्‍याउने उद्देश्य राखेको छ। कार्यक्रममा सहभागीले आफ्ना क्षेत्रबाट सक्दो समर्थन गर्ने प्रतिबद्धता जनाएका छन्। वरिष्ठ संवाद सहजकर्ता सुशील बस्नेतका अनुसार, समूहमा सामाजिक विकास समितिका सभापति यामप्रसाद नेपाली सार्की, सदस्य रेखा शर्मा, कानुन समितिकी सदस्य सुशीला नेपाली बादी र जमुना ढकाल, तथा अर्थ समितिकी सदस्य हेमा बेल्बासेको सहभागिता रहेको छ।

साथै कानुन व्यवसायी, निजी क्षेत्र, पत्रकार, नागरिक समाज र गैरसरकारी संस्थाका प्रतिनिधिहरू समेत उक्त समूहमा सहभागी छन्। प्रदेश सभा सदस्यहरूले यस्ता समुदायका सवालमा आवाज उठाउँदै सक्रिय भूमिका निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्।

कार्यक्रममा ‘द एसिया फाउन्डेसन’का डिपुटी कन्ट्री रिप्रेजेन्टेटिभ प्रीति थापाले सरकारी, निजी तथा अन्य सरोकारवाला निकायबीच समन्वय र सहकार्य हुन सकेमा सीमान्कृत समुदायका मुद्दा सम्बोधन गर्न सहज हुने विश्वास व्यक्त गरेका छन।

सम्वाद समूहले विगत दुई वर्षदेखि राज्यबाट वञ्चित समुदायहरूलाई मूल प्रवाहमा ल्याउने उद्देश्यले नीति सञ्जाल निर्माण गर्दै आएको छ। यसमा चिडीमार, नटुवा, सोना, कुसुन्डा, बादी, गन्धर्व, मुस्लिम, कुमाल, यौनिक तथा लैङ्गिक अल्पसंख्यक, यादव, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र थारू महिलाजस्ता समुदाय समावेश छन्।

नीति सञ्जालले नीति निर्माण, बजेट तर्जुमा तथा कार्यान्वयनमा ती समुदायको सहभागीता सुनिश्चित गर्न सके संघीय शासन प्रणालीको प्रभावकारी कार्यान्वयनमा टेवा पुग्ने अपेक्षा गरेको छ।

यसअघि समूहले राजनीतिक अधिकार, पहिचानको संरक्षण, धर्म, भाषा, लिङ्ग, संस्कृति लगायतको संवैधानिक सुनिश्चितता, प्राकृतिक स्रोतको न्यायपूर्ण व्यवस्थापन, र समयमै संविधान कार्यान्वयनका विषयमा संवाद गर्दै आएको थियो।

हालसम्म सम्वाद समूहले पछाडि पारिएका वर्गहरूलाई नीति निर्माण प्रक्रियामा समावेश गराउन विभिन्न तहमा संवाद र सहजीकरण गर्दै आएको छ। कार्यशालामा अभिमुखीकरणका लागि लेखक तथा अभियन्ता जिवी विश्वकर्माले सहजीकरण गर्नु भएकाे थियाे।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस