घोराही, असार ३१ । घोराही उपमहानगरपालिकाले अखाद्य वस्तु बिक्री गरेको गुनासोका आधारमा घोराही–१४ बालमन्दिरस्थित एक जुस पसल र एक खाद्य किराना पसलमा अनुगमन गरी कारबाही गरेको छ।
उपभोक्ता हित संरक्षण शाखाका प्रमुख मोहनसिंह सुनारका अनुसार सडेको फलफूल प्रयोग गरेर जुस बनाइरहेको भन्ने गुनासो आएपछि वारसी फ्रुट एण्ड जुस सेन्टर मा छापा मारिएको हो। अनुगमनका क्रममा सडेको फलफूल, सरसफाइको निकै कमजोर अवस्था, र एल्युमिनियमको म्यानुअल मेसिन प्रयोग गरी जुस बनाएको पाइएपछि पसललाई आठ हजार रुपैयाँ जरिवाना गरिएको हो।
त्यसैगरी, प्रयोगमा ल्याउन राखिएको एक क्विन्टल बराबरको सडेको फलफूल नष्ट गरिएको उपमहानगरले जनाएको छ। उपमहानगरले एक साताभित्र सफाइ सुधार गर्न र इलेक्ट्रिक जुस मेसिन प्रयोगमा ल्याउन निर्देशनसमेत दिएको छ। सो निर्देशनको अवहेलना गरेमा पसल बन्द गर्ने चेतावनी दिइएको छ।
यस्तै, ऋद्धिसिद्धि इम्पेक्स नामक किराना पसलमा म्याद गुज्रेका सामग्री बिक्री गरिरहेको उजुरीका आधारमा छापा हानिएको हो। अनुगमनका क्रममा म्याद गुज्रिएका १५ प्रकारका खाद्य वस्तुहरू, जसको मूल्य १६ हजार एक सय ९५ रुपैयाँ बराबर पर्छ, जफत गरी नष्ट गरिएको हो।
उद्योग वाणिज्य संघ, प्रहरी र सञ्चारकर्मीको सहभागितामा गरिएको अनुगमनमा म्याद सकिएको सुजीलगायत मसला, ओट्स, कुर्कुरे लगायतका सामग्री फेला पारिएको उपमहानगरले जनाएको छ।
उपमहानगरपालिकाले यस्ता अनियमितता दोहोरिएमा कडा कारबाही गरिने स्पष्ट चेतावनी दिएको छ।












